उपत्यकामा बर्डफ्लुको संक्रमण, ३५० काग मरे
काठमाडौँ, २३ चैत । काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच् ५ एन् १ संक्रमण भएको देखिएको विभागले जनाएको छ । ‘एक हप्तामा डेढ सय काग मरेका छन्, नमुना परीक्षण गर्दा बर्डफ्लु एच् ५ एन् १ पोजेटिभ देखियो,’ प्रदेश ३ का वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठले भने । नेपालमा बर्डफ्लु संक्रमणबाट काग मरेको पहिलोपटक पुष्टि भएको चिकित्सकहरूले बताएका छन् ।
पशु विकास अधिकृत श्रेष्ठले परेवा, भँगेरामा कुनै समस्या नदेखिएको, तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्क अपनाइएको बताए । उनका अनुसार पशु सेवा विभागले मृत काग नष्ट गरिसकेको छ । टोखा क्षेत्रमा केही समयअघि कुखुरामा बर्डफ्लु देखिएको र फालेका कुखुरा खाँदा कागमा सरेको हुन सक्ने अनुमान पशु चिकित्सकको छ । श्रेष्ठले बर्डफ्लु कुखुरा र कागबाट मानिसमा सर्ने सम्भावना बराबर हुने बताए । मानिसबाट मानिसमा सर्ने क्रम झन् तीव्र हुने उनले बताए ।-नयाँ पत्रिकावाट