नेकपा डस्टविनमा फालिएको डाइपर – बलराम तिमल्सिना
कम्युनिष्ट विग्रिएपछि कसरी गन्हाउँछन भन्ने गजवको उदाहरण वर्तमान सत्ताधारी पार्टी भएको छ। निर्मला प्रकरण, तेत्तिस किलो सुन प्रकरण, वाइड वडी प्रकरण हुँदै ऐले महासचिवकै वालुवाटार घडेरी प्रकरणसम्म आइपुग्दा वर्तमान नेकपा ( नेकपा) हिङ बाँधेको टालो पनि होइन वरु डस्ट विनमा फालिएको डाइपर हो भन्ने कुरा सिधा सिधा प्रमाणित भएको छ। नेताहरू सिधा सिधा अपराधी प्रमाणित हुन्छन, पार्टी नेतृत्व मस्त निद्रामा सुत्छ । दलालमा परिणत भैसकेका कार्यकर्ता लाज पचाएर नेतृत्वको लाज छोप्न थाल्छन।केही कार्यकर्ता गुनासो त गर्छन तर फोहोरको खाडीबाट निस्कने कुरामा टसमस गर्दैनन। केही कार्यकर्ताहरू आलोचना त गर्छन तर ती पनि भ्रष्ट तथा नालायक पार्टीसँग नाता तोड्ने कल्पना समेत गर्दैनन। यस्तो लाग्छ – सरकारी नेकपामा भ्रष्टाचार गर्ने, अपराध छोपछाप पार्ने, चुप लागेर बस्ने, गुनासो गर्ने र आलोचना गर्ने विभिन्न खाले भूमिकाहरू वाँडिएका छन र सवैले आफ्नो आफ्नो भूमिका खेलिरहेका छन। यस्तो लाग्छ- उनीहरू एउटा अश्लिल नाटकमा आआफ्ना भूमिका निर्वाह गरिरहेका छन। उनीहरू एउटा उद्देश्यमा छन । यस्तो लाग्छ- उनीहरूले कथाले निर्देशन गरे अनुसारको भूमिका मात्र खेलेका हुन।
एउटा भयानक तथ्य देखिन थालेको छ , त्यो हो- पार्टी र सरकारका जन विरोधी, राष्ट्र विरोधी तथा भ्रष्ट चरित्रको वारेमा तुलनात्मक रुपमा वरु पूर्व एमाले वालाहरू चाँ चाँ चुँ चुँ गरेको सुनिन्छ तर पूर्व माओवादीबाट गएकाहरू चुप चाप देखिन्छन र कतिपय अवस्थामा त अझ अपराधको ढाकछोप गर्ने कुरामा लागेको समेत देखिन्छ। यसले एक पटक फेरि के प्रमाणित भएको छ भने- पूर्व माओवादीहरू भोका स्यालहरू र पूर्व एमालेहरू तुलनात्मक रुपमा अघाएका( काङ्ग्रेसभन्दा कम) स्यालहरू हुन। पूर्व माओवादीहरू एमालेमा गएका एमालेसहितलाई रुपान्तरण गरेर एकीकृत कम्युनिष्ट पार्टी बनाउँन भनेर होइन वरु अव कम्युनिष्ट बनेर वाँच्न सकिन्न भन्ने गहिरो निस्कर्षसहित ठूलो पार्टी बनाएर आफूभित्र मौलाएको वर्षौं पुरानो भोक, तिर्खा र पूँजीपति बन्ने चर्को लालसा पूरा गर्न मात्र गएका हुन।
वालुवाटार घडेरी प्रकरणपछि नेकपाका महासचिवको लज्जाहीन वक्तव्य र त्यसलाई शेयर गर्ने जमातहरू देख्दा लाग्छ – संसार भरिका कम्युनिष्टहरूलाई वदनाम गराउँन र मार्क्सवादमाथि हमला गराउँन साम्राज्यवादको गुरु योजना अनुसार नै यिनीहरू सवै काम गरिरहेका छन। आज नेपालका शेष रहेका सामन्ती तत्वहरू अनि दलाल तथा नोकरशाह भ्रष्ट तत्वहरूलाई कम्युनिष्ट विचारमाथि खुल्ला हमला गर्ने छुट कसैले दिइरहेको छ भने त्यो सरकारी नेकपाले दिइरहेको छ। सर्वहारा श्रमजीवि वर्गको महान झण्डालाई डाइपर बनाउँने संसोधनवादी गद्दारहरूलाई परास्त नगरी नेपालमा सही कम्युनिष्ट आन्दोलनको उठान विकास संभव नै छैन। कोही पनि इमान्दार कम्युनिष्टले झण्डा र नामको आधारमा यिनीहरूप्रति नरम व्यवहार गर्नु भनेको मृत्युसँग नरम व्यवहार गर्नु जस्तै हो ।झण्डा या नामको आधारमा यिनीहरू वन्धु ,सगोत्री या सवर्गी होइनन् ।वरु यी त सर्वहारा समुदायको कमजोर चेतना स्तरलाई प्रयोग गरेर साम्राज्यवादको दलाली गर्ने र सवै हिसावले भ्रष्ट कुतत्वहरूको समुह हो। हरेक दिन यिनीहरूलाई थुक्नु, यिनीहरूका अपराधहरू खोलेर नाङ्गेझार पार्नु र आम जन समुदायमा यिनीहरूको कारणले कम्युनिष्ट आन्दोलन प्रति पैदा भएको भ्रम र निराशालाई चिर्नु आजको हाम्रो जरुरी कार्यभार हो ।