नेकपाद्वारा सर्बसाधारणको घर खानतलासीप्रति आपत्ति
काठमाडौं , १ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले प्रशासनले बिभिन्न बहानामा सर्बसाधारणको घर खानतलासी गरेको प्रति आपत्ति जनाएको छ । नेकपा ताप्लेजुङका जिल्ला इन्चार्ज सक्कलले शनिबार बिज्ञप्ति जारि गर्दै केहि दिनअघि जिल्लाको फक्ताङ्लुङ गाउँपालिका २ नम्बर वडा, खेजेनिममा प्रशासनद्वारा बिभिन्न बहानामा सर्बसाधारणको घर खानतलासी गरि त्रास फैलाउने काम गरेको प्रति आपत्ति जनाएका हुन् । यस्तै गिरफ्तार पार्टी जिल्ला सदस्य धनपति गुरागाइँ, निमा शेर्पा र युवा संगठन नेपाल जिल्ला अध्यक्ष बिदुर शेर्पा र सदस्य फुर्बा शेर्पालाई तत्काल बिनासर्त रिहा गर्न माग पनि गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय प्रचण्ड, ओली सरकारले बिनाकारण हाम्रो पार्टीका नेताकार्यकतालाई गिरफ्तार गर्ने, दुःख जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल किसान संगठन केन्द्रीय सदस्य तथा मेचीब्यूरो संयोजक क.धनपति गुरागाइँलाई आफ्रनै घरबाट २०७५ साल चैत्र २६ गते साँझ र पार्टीका जिल्ला सदस्य, युवा संगठन नेपाल केन्द्रीय सदस्य तथा मेचीब्यूरो संयोजक क. निमा शेर्पा, युवा संगठन नेपाल जिल्ला अध्यक्ष बिदुर शेर्पा र जिल्ला सदस्य फुर्बा शेर्पालाई बिना कारण २०७५ साल चैत्र २९ गते राति हाङपाङबाट गिरफ्तार गरेको छ । बिना कारण गिरफ्तार गरिएका हाम्रा नेता तथा कार्यकर्तालाई बिनासर्त रिहाइ गर्न हाम्रो पार्टी माग गर्दछ । यदि, तत्काल रिहाइ नगरिए कडा संघर्ष गर्ने चेतावनी दिन चाहन्छौं ।’
जिल्ला इन्चार्ज सक्कलद्वारा शनिबार जारि गरिएको बिज्ञप्ति मार्फत केहि दिनअघि प्रशासनले सर्बसाधारणको घर बिना कारण खानतलासि गरेकोप्रति आपत्ति जनाउँदै, त्यस्तो कृयाकलाम तत्काल बन्द गर्न आग्रह गरिएको छ । बैशाख ५ गते नेकपाले आब्हान गरेको नेपाल बन्दलाई सहयोग गरिदिन आम नागरिकमा अपिल समेत गरिएको छ ।
