तिमीले ऐना हेर्न छोडेको कति भयो ?– बलराम तिमल्सिना

२०७६ बैशाख १ गते, आईतवार

जुन दिन तिमीले
भ्रष्टाचारीसँग अङ्कमाल गर्यौ
र चुप्प गालामा म्वाइँ खायौ
हो त्यही दिन हो
तिम्रो इमानमा दाग लागेको !

जुन दिन तिमीले
दलाललाई लाल भन्यौ
र गद्दारलाई सलाम ठोक्यौ
हो त्यही दिन पोतिएको हो-
तिम्रो अनुहारमा मोसो !

जुन दिन तिमीले
नाङ्गै हिडेको वादशाहलाई
समाजवादी पहिरनमा छ भन्यौ
र वादशाहको गलामा
एक पसेरीको माला पहिर्यायौ
हो त्यही दिन हो
तिम्रो पनि कट्टु खुस्किएको
र तिमी नाङ्गै बनेको !

जुन दिन तिमीले
प्रश्नहरू सुनेर राता आँखा पार्यौ
र परक्क मुन्टो बटार्यौ
जुन तिमीले
व्यवहारिक हुने नाममा
कमिशन ग्रहण गर्यौ र मुस्कुरायौ
हो त्यही दिनबाट हो
तिमी कमरेडबाट खसेको !

हामीलाई
सोमत सिकाउँदै हिड्ने
ए भूतपूर्व कमरेड
तिमीले ऐना हेर्न छोडेको कति भयो ?

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार