‘नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ‘

२०७६ बैशाख ६ गते, शुक्रबार

काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सबै देशभक्त, जनवादी तथा आमजनताको सहयोग समर्थन र ऐक्यबद्धतामा नेपाल बन्द सफल भएको भन्दै सबै व्यावसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्ति सबैलाई धन्यवाद दिएका छन् । विप्लवले सरकार र वर्तमान सत्ताले नेपाली जनता र देशको रक्षा गर्न नसक्ने भएकाले आफ्नो पार्टीले अघि बढाएको सङ्घर्षमा लाग्न पनि आग्रह गरेका छन् ।
वर्तमान सरकारले जनघात र राष्ट्रघातलाई झनै बढाएकै कारण देशको अवस्था दिनानुदिन बिग्रिदै गएको भन्दै महासचिव विप्लवले जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन एकपटक फेरि नयाँ सङ्घर्षमा एक भएर लाग्न जरुरी भैसकेको बताएका छन् ।
उनले विज्ञप्ती मार्फत उक्त संघर्षको नेतृत्व पार्टीले निरन्तर गर्दै आइरहेकोले उक्त आन्दोलनमा देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतान्त्रवादी लाग्न विशेष आग्रह समेत गरेका छन् ।
केपी ओली सरकारका पछिल्ला गतिविधि र स्थायी समिति सदस्य सुदर्शन, पीबीएम मोहन कार्की, केन्द्रीय सदस्य तथा महिला सङ्गठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलगायतका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र जनतालाई गिरफ्तार गरी झुठा मुद्दा लगाउने, अप्रेशनका नाममा गाउँगाउँमा आतंक सिर्जना गर्ने, पार्टी तथा जनवर्गीय सङ्गठनका गतिविधिमाथि प्रतिबन्ध लगाउने काम गरेपछि त्यसको प्रतिरोध स्वरुप बन्द आह्वान गरिएको पनि प्रष्ट पारेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]