पत्रकार महर्जन सर्वोच्च अदालतको गेटबाटै पुनः गिरफ्तार

काठमाडौं, ८ वैशाख । पत्रकार जितेन्द्र महर्जन सर्वोच्च अदालतको गेटबाटै पुनः गिरफ्तारमा परेका छन । उनलाई प्रहरीले संगठित अपराध तथा राज्यविरुद्धको मुद्दा लगाएकाे छ । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै आइतबार रिहा गर्न आदेश दिएलगत्तै नेपाल भाषाको पत्रिका न्हुगु जोजोलोपाका प्रधान सम्पादक महर्जनलाई उक्त अभियोगमा अनुसन्धान गर्न भन्दै पुन गिरफ्तार गरेको हो ।गणतान्त्रिक सरकारले पत्रकारलाई राज्यविरुद्ध मुद्दा चलाएको यो नै पहिलो हो ।
यसअघि महानगरीय प्रहरी परिसर टेकुले गिरफ्तार गरी राज्यविरुद्धको मुद्धा नै लगाएको थियो । तर नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसी दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डम्बरबहादुर शाहीको इजलासले पत्रकार महर्जनलालाई रिहाको आदेश दिएको थियो ।
महर्जन विप्लव निकट पत्रकार संगठन जनपत्रकार संगठन नेपालका काठमाडौं संयोजक हुन् । समाचार संकलनका क्रममा रहेका उनलाई विप्लव निकट नेकपा कार्यकर्ता भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
वस्तुनिष्ट आधार र कारणबिना महर्जनलाई पक्राउ गरेको र अनुसन्धानका क्रममा भन्दै थुनामा राख्ने कार्य मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन २०७४ को दफा ९ विपरीत रहेको सर्वोच्चको ठहर छ ।
‘निश्चित राजनीतिक आस्था भएकाले प्रवृत्त भावनाबाट कानुनको उचित कार्य्विधि पालना नगरी थुनामा राख्न पनि नमिल्ने, पटक(पटक म्याद थप गरी हिरासतमा राखिरहनु न्यायिक दृष्टकोबाट समेत औचित्यपूर्ण नदेखिएकले जितेन्द्र महर्जनको हकमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ ।