विनाशकारी भूकम्प गएको ४ बर्ष पूराः परकम्प आउने क्रम जारी

२०७६ बैशाख १२ गते, बिहीबार

काठमाडौं, १२ वैशाख । विनाशकारी भूकम्प गएको आज ४ बर्ष पूरा भएको छ । ४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिनुका साथै १८ हजारभन्दा बढी घाइते भएका थिए । वैशाख १२ गतेको भूकम्पबाट नेपालको १४ जिल्ला अतिप्रभावित बनेको थियो । त्यसको प्रत्यक्ष असर ३१ जिल्लामा पनि परेको थियो । नीजि घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएको थियो ।
२०७२ सालको महाभूकम्पअघिको तुलनामा त्यसपछिका समयमा भूकम्प जाने क्रम बढेको छ । भूकम्पविदहरुले भने अहिले आइरहेका कम्पनहरु भूकम्प नभएर आफ्टरशक अर्थात परकम्पनहरु रहेको बताएका छन् । ठूलो भूकम्पले दरार पैदा गरेको ठाउँमा जाने भूकम्पलाई परकम्प भनिन्छ भने ठूलो भूकम्पले प्रभाव नपारेको नयाँ ठाउँकोलाई भूकम्प भनिन्छ । ०७२ साल यताको चार बर्षमा झण्डै ४५ हजार परकम्प आएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसबीचमा कुनै महिना दिनहुँजसो धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प आउने गरेको छ ।
भूकम्पविद्का अनुसार कुनै स्थानमा ठूलो भूकम्प गएपछि त्यहाँ धेरै बर्षसम्म निरन्तर निरन्तर साना स्केलका भूकम्प जाने गर्छ, जसलाई परकम्प भन्ने गरिन्छ । शक्तिशाली भूकम्पपछि सबै शक्ति बाहिर नआएको कारण पटक पटक भूकम्प जाने भूकम्पविद् बताउँछन् । नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रूपमा रहेको विज्ञहरुले बताउँदै आइरहेका छन् । नेपाल इन्डियन प्लेटमाथि रहेको र उत्तरमा रहेको युरेसिएन प्लेटसँग इन्डियन प्लेट जोडिएको ठाउँमा रहेको छ । यी दुई प्लेटबीच संघर्ष हुँदा नेपाललाई भूकम्पीय जोखिमयुक्त क्षेत्रका रूपमा लिने गरिएको छ । झन्डै पाँच करोड वर्षअघि दक्षिणको इन्डियन प्लेट उत्तरको युरेसिएन प्लेटसँग ठोक्किएको अध्ययनकर्ताको अनुमान छ ।
यसैबीच, भूकम्पले भत्काएकामध्ये आधा घर अझै पुनर्निर्माण भएका छैनन्। भत्किएका घरको पुनर्निर्माण नहुँदा भूकम्पपीडित टहरामै छन्। सरकारले निजी आवासलाई प्राथमिकता दिएको भन्न छाडेको छैन। भूकम्प गएको चार वर्ष भइसक्दा ८ हजार ३ सय २६ परिवारले मात्रै घर निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन्।
०७२ वैशाख १२ को भूकम्पबाट ८ लाख २४ हजार ४ सय ५२ घर क्षति भएका थिए। ७ लाख ६२ हजार ३ सय ७ लाभग्राहीले अनुदान सम्झौता गरे। सम्झौतामध्ये ५० प्रतिशत घर निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए। ३ लाख ८२ हजार २ सय ७७ घर परिवारले घर पुुनर्निर्माण सकाएका छन्। उनीहरू नयाँ घर प्रवेश गरिसकेका छन्। ३० प्रतिशत (२ लाख ३० हजार ६५८) घर पुनर्निर्माण क्रममा छन्। जोखिमयुक्त बस्ती ४ हजार घरपरिवारमध्ये आधाजतिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
काठमाडौं वरपरका १४ जिल्ला भूकम्पबाट अति प्रभावित भएका थिए भने १८ जिल्ला कम प्रभावित सूचीमा छन्।पुनर्निर्माण सक्न थप ४ खर्ब २९ करोड रकम आवश्यक पर्ने प्राधिकरणका सीईओ सुशील ज्ञवालीले जानकारी दिए।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प पुनर्निर्माण दु्रत गतिमा अघि बढेको दाबी गरे।
उता, सम्पदा पुनर्निर्माण ३० प्रतिशत मात्रै भएको छ। आठ वर्षभित्र सम्पदा पुनर्निर्माण सक्ने सरकारी योजना भए पनि आधा समय बित्दासम्म झन्डै एकतिहाइ मात्र काम सकिएको छ। सात सय ५३ सम्पदामा क्षति पुगेकोमा दुई सय २४ मात्र सम्पन्न भएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। विभागमार्फत एक सय ६२, पशुपति क्षेत्र विकास कोषमार्फत २० र अन्य संघसंस्थाबाट ४२ सम्पदा पुनर्निर्माण गरिएका छन्। भूकम्पले एक हजार चार सय सम्पदामा क्षति पुर्‍याएको छ। दुई सय २१ सम्पदा निर्माण चरणमा छन् भने एक सय ३९ सम्पदा निर्माणाधीन छन्।

प्रतिक्रियाहरु

[anycomment]