‘ महाभूकम्पका पराकम्पन दशौँ वर्षसम्म आउन सक्छन्’
काठमाडौं, १३ बैशाख । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा. डा. हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेका छन् । उनका अनुसार जमिनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ। भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए। ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताए। जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने उनले बताए। सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए। जमीनमुनिको शक्ति भूकम्पीय तरंगले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ। विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको भन्दै उनले त्यसको प्रभाव भारतको दरभंगासम्म पुगेको बताए।
विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको भन्दै उहाँले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताए। पश्चिम नेपालमा ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ। भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताउछन्। भूकम्पले नभएर संरचनाले क्षति पु¥याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। चार वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो। -रासस