मौसम भविष्यवाणी : ५० वर्ष पुरानै प्रविधि

२०७६ बैशाख १४ गते, शनिबार

काठमाडौँ, १४ वैशाख । गएको चैत १७ गते बारा र पर्साका केही निश्चित क्षेत्रमा आएको टोर्नाडोपछि मौसमी भविष्यवाणी र पूर्वचेतावनीमा नेपाल कति कमजोर छ भन्ने स्पष्ट भयो र बहस पनि सघन हुँदै छ । त्यस घटना टोर्नाडो हो वा हावाहुरी भन्ने खुट्याउन नेपाली वैज्ञानिकलाई केही दिन लाग्यो । त्यसपछि नेपालको मौसम पूर्वानुमानको स्तरबारे चर्चा सुरु भयो । केही वर्ष पहिलेसम्म मौसमको जानकारी पाउन सर्वसाधारण धेरैले आकाशतिर आँखा लगाउँथे तर हिजोआज मोबाइल एप्सतिर धेरैको आँखा जान्छ । हवाइ उडान, कृषि, स्वास्थ्य सेवादेखि आमा मानिसका दैनिकीमा मौसमी सूचना महत्वपूर्ण मानिन्छ । नेपालमा सर्वसाधारणलाई मौसमबारे जानकारी दिन थालेको ५० वर्ष पूरा भए पनि प्रविधि र जनशक्तिका हिसाबले हामी निकै पछाडि रहेको जानकारी सार्वजनिक हुँदै छ ।
छिमेकी मुलुक आफ्ना विकास कार्यक्रमका लागि एक वर्ष अघि नै मौसमको पूर्वानुमान गर्न सक्षम भइसक्दा पनि नेपाल अझै जनशक्ति र प्रविधिका हिसाबले पुरातन र चुनौतीपूर्ण अबस्थामा रहेको नेपाली मौसमविद्हरू बताउँछन् । mबगकबm)ज्ञ
मौसम पूर्वानुमानको महत्व
दैनिक कामका साथै योजनावद्ध विकासका कार्यक्रममा समेत मौसम पूर्वानुमान अनिवार्य छ । विद्युत् उत्पादन, कृषि उत्पादनजस्ता विकासजन्य काममा मात्र हैन स्वास्थ्य, पर्यटन, शिक्षा, रोजगारीका अवसरमा समेत मौसम अध्ययनको प्रयोग बढ्न थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा एग्रोमेट्रो अवधारणामा काम सुरु भएको विज्ञ रामेश्वर रिजालको भनाइ छ ।
उहाँका अनुसार मौसम पूर्वानुमानकै सहयोगले सुक्खा र बाढी सहन सक्ने धान, मकै, गहँु तथा तरकारीको बिउको जातको आविष्कार गरिएको छ ।
“विषादी तथा मलको प्रयोग, सिँंचाइको प्रयोग र बाली लगाउने र भित्र्याउने काम पनि मौसमको पूर्वानुमानकै आधारमा किसानले गर्छन् ,” उहाँको भनाइ छ ।
स्वास्थ्यका क्षेत्रमा नेपालमा रोगव्याधीको विविध अध्ययन मौसम परिवर्तनकै आधारमा भएका पाइन्छन् । स्वास्थ्य सेवा विभागका स्वास्थ्य प्रशासक डा।समीरकुमार अधिकारीका अनुसार विशेष खालको स्वास्थ्य समस्या समेत मौसम अनुसार देखापर्ने गर्छ । “सर्पको टोकाइ वर्षात्मा बढी देखिन्छ,” अधिकारीले थप्नुभयो, “त्यस्तै मलेरिया, कालाजार, डेंगु जस्ता रोग पनि मौसमी रूपमा नेपालमा देखिन थालेको छ ।”
“पहिले पहिले तराईमा मात्र देखिने कालाजार अब हिमाली भेग डोल्पामा पनि देखियो,” उहाँले प्रष्ट्याउनुभयो, “मलेरिया र औलो मुगुमा देखियो अनि डेंगु घना सहरमा मात्र हैन दार्चुलामा पनि भेटियो ।”
पूर्वानुमानको इतिहास
पाँच दशक अघिसम्म पनि नेपाल मौसमसम्बन्धी जानकारीका लागि भारतमा निर्भर थियो । भारतले वि।सं। २००८ मा कोसी ब्यारेज स्थापना गर्न बर्षा र पानीको बहावको अध्ययन गर्न हिमाली भेगसहित देशका १०४ स्थानमा जल तथा मौसम केन्द्र स्थापना गरेको थियो ।
भारतमा भने ब्रिटिसले ल्याएको आधुनिक उपकरणका कारण मौसम पूर्वानुमानमा आत्मनिर्भर थियो । नेपालमा २०२४ सालभन्दा अघिदेखि जलस्रोत सर्वेक्षण विभागले हावापानी तथा जलविज्ञानसम्बन्धी काम गथ्र्यो । तर त्यो अन्य क्षेत्रको लागि नभई जलस्रोतको अध्ययनका लागि मात्र हुन्थ्यो । नेपालमा २०२४ सालमा जलस्रोत तथा जलवायु विज्ञान विभाग स्थापना भयो । त्यही साल नेपाल विश्व मौसम सङ्गठनको सदस्य बन्यो । विभागको पहिलो निर्देशक रामप्रसाद नेपाल नियुक्त हुनुभयो । त्यही साल वरिष्ठ मौसमविद् जनकलाल नायवा श्रेष्ठ पहिलो मौसम अधिकृत बनेर विभागमा प्रवेश गर्नुभयो । हाल उहाँ ७५ वर्षको उमेरमा पनि मौसमकै क्षेत्रमा काम गरिरहनु भएको छ ।
कमजोर पूर्वाधार चुनौती
नेपालमा सन् १९८३ ताका जनसङ्ख्या तथ्याङ्क विश्लेषण गर्न पहिलो पटक कम्प्युटर ल्याइएको थियो । कम्प्युटर प्रविधि मौसम पूर्वानुमान र विश्लेषणमा प्रयोग हुन भने ४० को दशक नै कुर्नुप¥यो । ५० वर्षको इतिहासमा हालसम्म पनि उही पुरानै कालखण्डको सामान्य कम्प्युटरमा निर्भर छ नेपालको पूर्वानुमान । जलतथा मौसम विज्ञान विभागको स्थापना चरणमा सय हाराहारी जनशक्तिले त्यति नै सङ्ख्यामा रहेका स्टेसन व्यवस्थापन गर्थे ।
हाल देशभरमा वर्षा मापन, हावापानी र स्वचालित केन्द्र गरी कुल ५८७ वटा स्टेसन छन् । ती सबैको व्यवस्थापनका लागि २५१ जनशक्ति परिचालित छन् । दक्ष जनशक्तिको टड्कारो अभाव विभागले झेलिरहेको मौसमविद्को भनाइ छ ।
“ उच्च हिमाली क्षेत्रमा स्टेसन स्थापना गरी काम गर्न सकिएको छैन,” मौसमविद् विकास नेपालले थप्नुभयो, “भौगोलिक असहजताले कुनै बेला परियोजनामार्फत हस्तान्तरण भएका केन्द्र पनि व्यवस्थापन गर्न सकिएन ।” उहाँका अनुसार सिनप्टिक केन्द्र९संक्षिप्त सूचना दिने केन्द्र०ले हरेक तीन घन्टामा तथ्याङ्क पठाउँछ । उहाँका अनुसार अटोमेटिक मौसम केन्द्रले भने हरेक १० मिनेटमा तथ्याङ्क दिन्छ ।
मौसमसम्बन्धी सूचना सामाजिक सञ्जाल, फोन तथा इमेलबाट सङ्कलन भएर क्षेत्रीय स्टेसनहुँदै केन्द्रमा पुगेपछि विश्लेषण गरिन्छ । त्यसपछि मात्र सर्वसाधारणमा सूचना वितरण गरिन्छ । गाउँका युवा विदेश गएकाले त्यस्ता स्टेसन हेर्न जिम्मा बुढापाका र किशोर किशोरीको भरमा रहेको छ ।
भाडामा लिएको जग्गाबाट पटक पटक स्टेसन सार्नुपर्ने चुनौती छ । उच्च हिमाली भेगमा केन्द्र स्थापना गर्न नसक्नु तथा मानिसलाई मौसम र जलवायुको चेतना नहुनु अर्को चुनौती छ ।
जलविज्ञ रुद्रबहादुर परियारले नेपालका नदी छेउछाउमा दुई सय स्टेसन रहेको जानकारी दिनुभयो । मानिसले हेरेर नदीको सतह हेर्ने व्यवस्थापनमा काम हुन्छ । अटोमेटिक, डाटा लेभल, भेलोसिटी सेन्सर र राडार लेभल सेन्सरको माध्यमबाट तथ्याङ्क विश्लेषणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
मौसमविद् सुजन सुवेदी नेपालको मौसम पूर्वानुमान विकासोन्मुख र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुहुन्छ । यस अन्तर्गत मौसमको विश्लेषण गर्ने र अनुमान गर्ने काम पर्छ । कमजोर प्रविधिको उपस्थितिमा पूर्वानुमान गर्नुपर्ने अवस्था चुनौती रहेको उहाँको भनाइ छ ।
प्रविधि र जनशक्ति
नेपालले पहिलो चरणमा चीन र भारतको भूउपग्रह प्रयोग गरेको थियो । अहिले जापानको हिमवारी भूउपग्रहको तस्बिरबाट मौसम विशलेषण गरिन्छ । अझ नयाँ प्रविधिमा रडारसँगै वायुमण्डलको १६ किलोमिटरमाथिसम्मको अवस्था बुझ्न बेलुनमा यन्त्र राखेर परीक्षण भइरहेको छ ।
त्यसैगरी ‘लो प्रेसर चार्ट’को माध्यम र हिमवारी स्याटलाइट तस्बिर विश्लेषणमा सघाउन मौसम पूर्वानुमान महाशाखामा १० जना पूर्वानुमानकर्मी र नौ जना अवलोकनकर्ता मौसमविद्ले काम गर्छन् । २४ घण्टामा दुइपटकसहित तीन दिनको मौसम पूर्वानुमान महाशाखाले गर्दै आएको छ ।
मौसमविद् इन्दिरा कँडेलका अनुसार ‘स्याटलाइट मोडेल’ले समात्न नसकेको मौसमको अवस्थितिलाई ‘न्युमेरिकल क्लाइमेट मोडेल’सँगै अन्य औजार तथा इम्पिरिकल मोडेल र ग्लोवल मोडेलको प्रयोगले विश्लेषण गरिदैछ ।
“तर पनि विश्वका अन्य देशका तुलनामा जसरी र जतिमात्रामा मौसम र जलवायुको जानकारी दिनुपर्ने हो सकेका छैनौँ,” उहाँले भन्नुभयो, “किनभने विश्वका अन्य देशसँग भएका प्रविधि हामीसँग छैन । ”
विभागसँग रिसर्च तथा डेभलपमेन्ट विभाग नै छैन । यसैको अभावमा बारम्बार पूर्वानुमान गलत सावित हुँदा विभागले अपजस पाउने गरेको महानिर्देशक सरजुकुमार वैद्य स्वीकार्नुहुन्छ ।
उहाँले भन्नुभयो, “नेपाल दिगो रूपमा सबल बन्न ‘रिसर्च’ अनिवार्य छ ।” नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा वातावरण र मौसम हेर्ने प्राज्ञ छन् । तर त्यहाँ पनि शाखा र आवश्यक उपकरण नहुँदा अध्ययन गर्न नसकिएको प्राज्ञ मदनलाल श्रेष्ठ बताउनुहुन्छ ।
के हो मौसम पूर्वानुमान ?
पृथ्वीको वातावरणमा उतारचढाव ल्याउने हावा, पानी, तापक्रम, बादल, चट्याङ, आँधी, कुहिरो, शीतलहर, हिमपात लगायतका तत्वहरूको समग्र रूप नै मौसम हो । “यी तत्वहरू मौसमका अङ्गप्रत्यङ्ग हुन् । तिनको हालको अवस्थामा आउने फरकपनको अनुमान गर्ने काम नै सामान्यतया मौसम पूर्वानुमान भनेर भन्न सक्छौँ,” मौसमविद सुजन सुवेदी अथ्र्याउनुहुन्छ । उहाँका अनुसार वायुमण्डलको निश्चित समयको अवस्था मौसम पूर्वानुमानले देखाउँछ । कम्तिमा ३० वर्षको मौसमको तथ्याङ्कको औसत प्रवृत्ति हुने उहाँको मत छ । -चाँदनी हमाल, गोरखापत्र

प्रतिक्रियाहरु

[anycomment]