राष्ट्रिय मह महोत्सव हुने

२०७० भाद्र २६ गते, बुधबार

काठमाडौं ,२६ भदौ। नेपाल सरकार किट विकास निर्देशनालय र केन्द्रीय मह व्यबसायी संघको संयूक्त आयोजनामा आगामी असोज महिनामा प्रथम राष्ट्रिय मह महोत्सव हुने भएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराइएको हो । मह महोत्सव आगामी असोज १७ गतेदेखि २० गतेसम्म राष्ट्रिय सभागृहमा आयोजना गरिने छ । महोत्सवमा ५० वटा महका स्टलहरु राखिनुका साथै मह र महका परिकारहरु पनि राखिने छ । महोत्सवमा मह र मह सम्बन्धि रोचक सामग्रीहरु एवं जानकारीहरु प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाली मह व्यबसायीहरुको संख्या बढ्दै जाँदा पछिल्लो समय नेपालमा मह उत्पादन पनि बढ्दै गएको छ । तथापी मह उत्पादन कुल मागको ५० प्रतिशत मात्रै भइरहेको नेपाल सरकार किट विकास निर्देशनालयका कार्यक्रम प्रमुख जगदीश भक्त श्रेष्ठले बताए । उनले महको बारेमा उपभोक्तालाई सत्य तथ्य कुरा जानकारी गराउन र मह व्यबसायलाई थप उर्जा प्रदान गर्नमा महोत्सव सफल हुने बताए । हाल नेपालमा बार्षिक १६ सय मेट्रीकटन मह उत्पादन भइरहेको छ । मह निर्यातजन्य बस्तुमा राखिएको भएपनि कुल खपतको ५० प्रतिशत मह भारतबाट आयात भइरहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]