सरकारको नीति तथा कार्यक्रमः ‘राजतन्त्र’को झल्को

२०७६ बैशाख २१ गते, शनिबार

काठमाडौं, २० बैशाख । सरकारले शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ । राजतन्त्रको झ–झल्को दिने गरी ‘मेरो सरकारले गरेको छ’, ‘मेरो सरकारको चाहना छ’, ‘मेरो सरकारले योजना बनाएको छ’ जस्ता बाक्याम्सका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसदको संयुक्त बैठकमा ‘समृद नेपालः सुखी नेपाली’को नारा सार्थक बनाउने लक्ष्य समेटिएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राजाको समयमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको शैलीमै राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा प्रस्तुत भएपछि विपक्षी दलका नेता कार्यकर्तादेखि सामाजिक सञ्जालसम्ममा विरोध शुरु भएको छ । गणतन्त्रमा राजाले प्रयोग गर्ने ‘मेरो सरकार’को शब्दावलीलाई उस्तै भाव र शैलीमा प्रयोग गरिएको भन्दै चौतर्फी बिरोध र आलोचना भएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ’नेपाली जनताले बनाएको सरकार छ कि राष्ट्रपतिको सरकार ?’ भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । ‘राजाकै शैलीमा राष्ट्रपतिको संवोधन शैली हुने भनी संविधानमा कहाँ उल्लेख छ ?’ उनको प्रश्न छ । ‘कुनैबेला श्री ५ को सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’ भन्दै शर्माले प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।
कांग्रेस नेता एवं सांसद गगन थापाले राष्ट्रपतिको सम्बोधन सकिएएलगत्तै सञ्चारमाध्यमसँग ‘मेरो सरकार’ भनेर राजा, महाराजाको झल्को दिन खोजेको भन्दै प्रश्न गरे । उनले ट्वीट पनि गर्दै, ‘महामहिम ज्यूको’ निजी सरकारको कार्यक्रम घोषणा भइरहेको टिप्पणी गरेका छन् ।
‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको छ । प्रधानमन्त्री ज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?’ राष्ट्रपतिले सम्बोधन गर्दागर्दै उनले गरेको ट्वीटमा उल्लेख छ ।
लेखक खगेन्द्र संग्रौलाले त राष्ट्रपति विद्या भण्डारीलाई महारानी नै घोषणा गर्न माग गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीलाई विद्या सरकारका प्रजा भन्दै आश्चर्य भाव प्रकट गरेका छन् । संग्रौला ट्वीट गर्दै भन्छन्, ‘बल्ल आयो पारा ! पहिले श्री ५ को सरकार छँदा राजा ‘मेरो सरकार’ भन्थे । अहिले नीति तथा कार्यक्रम पढ्दा राष्ट्रपति विद्याले प्वाक्क ‘मेरो सरकार ’ भनिन् । भनेसी प्रम ओली विद्या सरकारका प्रजा भएछन् । म त भन्छु– तै तै विद्यालाई महारानी घोषित किन नगर्ने ? माग्नु छ मोही, ढुंग्रो किन लुकाउने ?’
पूर्व अर्थसचिव रामेश्वर खनालले राष्ट्रपतिको शैलीप्रति असन्तुष्टि जनाउँदै ‘यो सार्वभौम नेपाली जनताको सरकार हो कि राष्ट्रपतिको ?’ भन्दै प्रश्न गरेका छन् । उनले राष्ट्रपतिको अभिव्यक्तिले पुरानै चलनको पुनरावृत्त गरेको उल्लेख गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु