आज मातातीर्थ औँसी
काठमाडौं, २१ बैशाख । आज वैशाख कृष्ण औँसी अर्थात आमाको मुख हेर्ने पर्व । आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।
आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । उहाँका अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।
आजको दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् । आमा बित्नेले सके प्रत्येक वर्ष नसके एक पटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।