जोमसोम बजार जोखिममा
काठमाडौं, २८ बैशाख । वर्षेनी कालीगण्डकी नदीले कटान गरेपछि मुस्ताङको सदरमुकाम जोमसोम बजार नै जोखिममा पर्दै गएको छ । नदी नियन्त्रणका लागि प्रभावकारी कदम नचालिँदा आसपासमा पहिरो गएपछि बजार नै जोखिममा पर्न थालेको भन्दै स्थानीय चिन्तित भएका छन् । वर्षाको समयमा कालीगण्डकी नदीमा पानीको सतह बढ्ने र त्यसले बस्ती आसपासका क्षेत्र कटान गर्दा जोखिम बढ्दै गएको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले बताए । उनले घरपझोङ गाउँपालिकाको जोमसोम, पुथाङ, स्याङ र मार्फाको बस्ती नदीले कटान गर्न सक्ने जोखिम देखिएको बताए । कालीगण्डकी छेउछाउमा रहेका करिब एक सय घरका साथै सरकारी कार्यालयहरुसमेत जोखिममा परेका छन् ।
गतवर्ष पनि कालीगण्डकीमा आएको बाढीले मुस्ताङका विभिन्न पुरातात्विक वस्तु र स्याउबारीमा क्षति पुर्याएको थियो । जोखिममा रहेका स्थानको संरक्षणका लागि चौथो गाउँसभाले विपद् व्यवस्थापनका लागि बजेट रकमान्तरण गरेको उपाध्यक्ष गुरुङले जानकारी दिए ।
गतवर्ष तटबन्धका लागि ८ लाख मात्रै बजटे छुट्याएको र असारमा ठूलो बाढी आएपछि बजार संरक्षण गर्न थप बजेर विनियोजन गरिएको उनले बताए । कटान नियन्त्रण गरी जोमसोम बजार संरक्षण गर्न प्राविधिक सर्वेक्षण गरी दीर्घकालीन योजना बनाउन घरपझोङ गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरेको उपाध्यक्ष गुरुङले बताए ।