साल्ट ट्रेडिङले मल पनि बिक्री गर्ने
काठमाडौँ, २८ भदौ । खाद्यवस्तुको आपूर्ति तथा बिक्रीमा लामो समयदेखि आबद्ध साल्ट ट्रेनिङ्ग कर्पोरेसनले आउँदो सातादेखि रासायनिक मल आयात गरी बिक्री गर्ने भएको छ । कृषि सामग्री केन्द्र लिमिटेडले खरिद–बिक्री गर्दै आएकोमा ढिलासुस्ती भएको उपभोक्ताको गुनासो बढेपछि सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई पनि रासायनिक मल आयात गरी बिक्री गर्ने जिम्मेवारी दिएको हो ।मन्त्रिपरिषद्बाट भन्सार सुविधा तथा सरकारको अनुदानमा कर्पोरेसनलाई ८५ हजार मेट्रिकटन रासायानिक मल आयात र बिक्रीका लागि जिम्मेवारी पाएको र उक्त मल आउँदो हप्ताको प्रारम्भमा नेपाल भित्रिने कर्पोरेसनले जनाएको छ ।कर्पोरेसनले आफ्नो ५० औँ स्वर्णजयन्तीका अवसरमा आयोजित कार्यक्रममा निम्न वर्गका जनताको हितका लागि ५ केजीको सानो बोरामा चामल बिक्री बितरण गर्न सुरु गरिएको घोषणा गरेको छ । कर्पोरेसनले खाना पकाउने ग्यास, चिनी, चामललगायतका अत्यावश्यक खाद्यवस्तु बिक्री गर्दै आएको छ ।
स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै अर्थ, वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले सार्वजनिक निजी साझेदारी (पीपीपी)को नमुना अवधारणालाई इतिहासको रूपमा उभ्याएको कर्पोरेसनलाई विश्वासका साथ सरकारले रासायनिक मल आयात तथा बिक्रीको जिम्मा दिएको बताए ।
आधारभूत खाद्यवस्तुको आपूर्ति व्यवस्थापनमा कर्पोरेसनले आफूलाई खरोरूपमा उतारेको उल्लेख गर्दै उहाँले भन्नुभयो “अर्को संस्थाले गर्ने काम यो कर्पोरेसनले गर्दै आएको कामलाई विश्वास गरेर मल वितरणको जिम्मेवारी दिएको छ, यो तपाइँहरूका लागि अग्निपरीक्षा पनि हो, यसमा उत्तीर्ण हुनुभयो भने सरकारले अन्य जिम्मेवारी पनि दिनेछ ।”मन्त्री कोइरालाले बजार व्यवस्थापन र आपूर्ति व्यवस्थापनमा सरकार स्वतन्त्र रहेको र कहिलेकाहीँ हस्तक्षेप गर्नुपर्ने अवस्था आउँदा कर्पोरेसनको भूमिका महत्वपूर्ण हुने भन्दै आफ्नो सेवालाई मितव्ययी तवरले प्रभावकारी बनाउन आग्रह गरे ।उनले मुलुक चाडपर्वको मुखमा रहेकोले आधारभूत खाद्यवस्तुको सहजरूपमा व्यवस्थापन गरी उपभोक्तालाई राहत प्रदान गर्न संस्थाले ध्यान दिनुपर्छ भन्दै दशैँ बजारका लागि सक्रिय भई व्यावसायिकतातर्फ अघि बढाउँदै पीपीपीको नमुनाका रूपमा लैजानुपर्ने र यसका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
वाणिज्य तथा आपूर्ति सचिव जनार्दन नेपालले खाद्यवस्तुको अलावा कृषि उत्पादनलाई प्रोत्साहन गर्न गुणस्तरीय बिउबिजन खरिदका लागि पनि कर्पोरेसन लागिपरेको भन्दै आफ्ना सेवा कार्यलाई थप प्रभावकारी बनाउन सुझाव दिए ।
कर्पोरेशनका महाप्रवन्धक उर्मिला श्रेष्ठले देशको राजनैतिक अस्थिरता तथा विभिन्न समस्याका कारण बजारमा गुणस्तरहीन अखाद्यवस्तु भित्रिने तथा अनियन्त्रित मूल्यवृद्धिजस्ता समस्याको समाधानमा सार्वजनिक निजी साझेदारीको रूपमा स्थापित कर्पोरेसनजस्ता संस्थाहरूको अपरिहार्यता र भूमिका अझ बढी हुने बताए ।कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले उपभोक्ताको हितमा समर्पित रही मूल्य नियन्त्रण र आपूर्तिको क्षेत्रमा संस्थाले महत्वपूर्ण सहयोग पुर्याउँदै आएको बताए ।
राजनीतिक हस्तक्षेपलगायतका कारण अन्य सरकारी संस्थान घाटामा गइरहेका बेला ५० वर्षे इतिहास बोकेको कर्पोरेसनले उल्लेख्य र उत्साहजनक नाफा गरेको छ ।अघिल्लो आर्थिक वर्ष २०६८÷६९ मा कर्पोरेसनले रु चार अर्ब ६२ करोडको कारोबार गरी रु १० करोड ४३ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।आगामी दशैं तिहार र छठलाई दृष्टिगत गरी विगत वर्षहरूमा झँै यस वर्ष पनि नेपाल सरकारको निर्देशनअनुसार विभिन्न स्थानमा स्टल राखी सहुलियत दरमा सामान बिक्री वितरण गरिने जनाएको छ । स्वर्णजयन्तीका अवसरमा कर्पोरेशनले रु ५० हजार राशिको बालहितकारी पुरस्कार दाङको बाल शान्ति गृहलाई प्रदान गरेको छ ।
त्यसैगरी कर्पोरेसनका कर्मचारीहरूका छोराछोरीमा प्रवेशीका परीक्षामा उत्कृष्ट नम्बर प्राप्त गरी “साल्ट ट्रेडिङ अनङ्गमान छात्रवृत्ति” प्राप्त गर्ने कर्मचारी आनन्दकुमार न्यौपानेका छोरा आभाष न्यौपाने तथा “साल्ट ट्रेडिङ लोकनाथ छात्रवृत्ति” प्राप्त गर्ने कर्मचारी दिपक थापामगरकी छोरी प्रकृति थापामगरलाई पुरस्कारस्वरूप दुई वर्षसम्म मासिक दुई हजारका दरले छात्रवृत्ति उपलब्ध गराइने संस्थाले जनाएको छ ।