देशभरका अदालत बिदा
काठमाडौं, १२ जेठ । सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आज सबै अदालतमा बिदा दिने निर्णय गरेको छ। सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ। सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो। अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन हुनुभएका स्वर्गीय खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
ललितपुर जिल्लामा मेजर दिलबहादुर खत्री र आमा अप्सरादेवी खत्रीको सन्तानका रुपमा १९८० असोज ३ गते जन्मेका खत्री २०३३ साल साउन २४ गतेदेखि २०४२ मङ्सिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गरेका थिए।
विस २००४ मा मुलुकी अड्डा ऐसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गरेका पूर्वप्रधानन्यायाधीश खत्रीले २००९ सालमा कानून मन्त्रालयको सचिव हुँदै प्रधानन्यायाधीश भई न्यायको क्षेत्रमा योगदान दिएका थिए।