माैसमविद्द्वारा सतर्क रहन आग्रह
काठमाडौं, २४ जेठ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरिकाे माैसममा बदली हुनेछ । देशका पूर्वी भूभागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने बताइएकाे छ । हावाहुरी समेत चल्ने भएकाले सतर्क रहन माैसमविद्हरुले सचेत गराएका छन् । शुक्रबार एकाबिहानै काठमाडाैं उपत्यका र आसपासमा पनि तीव्र हावाहुरीसहित बर्षा भएको छ ।
काडमाडाैंमा कतैकतै रूखका हाँगाहरू भाँचिएर सडकमा खसेका छन् । राष्ट्रपति निवासपछाडिकाे सडकलगायत क्षेत्रमा रूखका हाँगाहरू सडकमा खस्दा सडकसमेत अवरूद्ध भएकाे छ ।
यसअघि सुकैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको छ । हिजो साँझ आएको तीव्र गतिको हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएका छन् । हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलालीको गोदावरीका वीरबहादुर चौधरी र टिकापुरका लाहानु चौधरीको मृत्यु भएको छ । हावाहुरी चलेका बेला मोटरसाइकलमा सवार वीरबहादुरको टिपरको ठक्करबाट मृत्यु भएको हो । त्यस्तै पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल खसालेपछि त्यसले थिचेर लाहानु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएको जानकारी आएको बताए ।
घाइतेहरुको सेती अञ्चल अस्पताल, पद्मा अस्पताल अत्तरिया र निसर्ग अस्पताल हसनपुरलगायतका ठाउँमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनालाई उप उपचारका लागि भारत पठाइएको छ । हिजो साँझ आधा घण्टासम्म एक्कासी आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो क्षति पुर्याएको हो । कयौं घरका छाना हावाहुरीले उठाएको छ भने कतिपय स्थानमा रुढ ढल्दा बाटो अवरुद्ध हुनुका साथै विद्युत् आपूर्तिसमेत बन्द भएको छ । कृषकले लगाएको बालीनालीमा समेत क्षति पुगेको छ । हावाहुरीले दाङ, कपिलवस्तु र रुपन्देहीमा पनि प्रभाव पारेको छ । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र (एनईओसी) ले पश्चिमबाट सुरु भएको हावाहुरी मध्य तथा पूर्वी क्षेत्रमा सरेको जनाएको छ ।