गुठी प्राधिकरण विधेयकबिरुद्ध संघर्षमा उत्रिने चेतावनी
काठमाडौं, २५ जेठ । सरोकारवालाहरुले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक खारेज नभएसम्म सडक संघर्षलाई निरन्तरता दिने चेतावनी दिदै विधेयकको प्रतिलिपि जलाएका छन् । उनीहरुले गुठी संस्थान खारेज गर्दै राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उद्देश्यले संसदमा दर्ता गराइएको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरोकारवालाहरुले जलाएका हुन् ।
त्यसअघि आयोजित कार्यक्रममा गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले विधेयक पारित भए देशकै मौलिक पहिचान बोकेको गुठी प्रणाली ध्वस्त हुने भन्दै सरकारको यो कदम आत्मघाती भएको बताए । आफूलाई जागिर गुमे पनि मतलब नहुने भन्दै उनले देशको धर्म, संस्कृति र मौलिक पहिचान संरक्षणका लागि संघर्ष गर्न सबैलाई आग्रह गरे ।
यस्तै नेवाः देय् दबुका अध्यक्ष नरेशकुमार ताम्राकारले देशमा इसाइकरण गर्ने अभियानअन्तर्गत् विदेशीको प्रभावमा परेर देशभरका गुठी र गुठी संस्कृति मास्नका लागि सरकारले यो विधेयक ल्याएको आरोप लगाए । मौलिक धर्म, संस्कृति ध्वस्त गर्ने षडयन्त्र जो–कसैले गरे उनीहरु ध्वस्त हुने उनको चेतावनी थियो ।
कार्यक्रममा हलिं नेवाः दबुका सुदयराज शिलाकारलगायतले ‘होली वाइन’को प्रभावमा परेर नेपाली मौलिक सभ्यता सिध्याउने षडयन्त्रमा सरकार लागेको भन्दै घरेलु हतियार लिएर सडक संघर्षमा उत्रिने चेतावनी दिए । नेपाल गुठी संरक्षण पुचले यसअघि गुठियारलाई नै हटाउने प्रावधानसहित ल्याएको विधेयकले देशमा लिच्छविकालदेखिको गुठी व्यवस्था नै अन्त्य हुने भन्दै आपत्ति जनाएको छ ।