प्रधानमन्त्रीको विदेश मोह : १५ महिनामा ९ पटक विदेश भ्रमण

२०७६ जेष्ठ २६ गते, आईतवार

काठमाडौं, २६ जेठ । केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको १५ महिना पार भएको छ । यसबीचमा उनले ९ पटक विदेश भ्रमण गरिसकेका छन् । यसै क्रममा प्रधानमन्त्री ओली शनिबार युरोप यात्राको लागि निस्किएका छन् । ओलीको युरोप यात्रा जेठ ३२ गतेसम्म चल्ने छ । युरोप यात्राको क्रममा ओली २६ र २७ गते स्वीट्जरल्याण्डमा रहने र उनले २७ गते जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने र केही उच्च अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।
ओली प्रधानमन्त्री भएको १५ महिना बितेको छ । यसबीचमा भारत, चीन, अमेरिका, कोस्टारिका, स्वीजरल्याण्ड, भियतनाम र क्याम्बोडियाको भ्रमण गरेका प्रधानमन्त्री ओलीले भोलिदेखि युरोपेली मुलुक स्वीजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्दै छन् । सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध भएको बेलायतमा नेपालबाट १७ वर्षपछि प्रधानमन्त्रीस्तरीय भ्रमण हो ।
जेठ २७ गते नै बेलायत पुग्ने प्रधानमन्त्रीले सोही दिन अक्सफोर्ड विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सक्ने लोकतन्त्रबारे धारणा राख्ने छन् । प्रधानमन्त्रीले जेठ २८ गते बेलायतकी प्रधानमन्त्री टेरेसा मेसँग भेटवार्ता गर्ने छन् । जेठ २९ देखि ३१ गतेसम्म फ्रान्स भ्रमण गर्ने प्रधानमन्त्रीले समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्ने छन् । नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाइरहँदा प्रधानमन्त्री ओली फ्रान्स पुग्न लागेका हुन् । भ्रमण क्रममा फ्रान्स सरकारसँग सेक्युरिटी प्रेस र स्याटलाइटसँग सम्बन्धित सम्झौता हुन सक्ने बताइएको छ ।
प्रधानमन्त्रीले ओलीले स्वीजरल्याण्डको भ्रमण ५ महिनामा दोस्रो पटक गर्न लागेका हुन् । यसअघि उनले माघ दोस्रो साता डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा भाग लिएका थिए । यस्तै, प्रधानमन्त्री ओली असोज पहिलो साता संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन अमेरिका गएका थिए । अमेरिकाबाटै कोस्टारिका गएका उनले सान होजेस्थित संयुक्त राष्ट्रसंघीय शान्ति विश्वविद्यालयको मानार्थ विद्यावारिधी उपाधि ग्रहण गरेका थिए ।
वैशाख २६ देखि ३० गतेसम्म भियतनाम र कम्बोडिया भ्रमण गरेका प्रधानमन्त्री ओलीले अघिल्लो वर्षको चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण गरेका थिए । २०७५ को असार दोस्रो साता चीन गएका प्रधानमन्त्री केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ समारोहमा सहभागि हुन दिल्ली पुगेका थिए । प्रधानमन्त्रीको विदेश ओहोर–दोहोरलाई सरकारको कुटनीतिक सफलतासँग जोड्ने गरिए पनि बेलायत भ्रमणले लामो समयदेखि जारी रहेको गोर्खा सैनिकसँग सम्बन्धित विवाद अन्त्य गर्न सक्ला–नसक्ला भन्नेमा अधिक चासो छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु