शिक्षक संगठनका जिल्ला अध्यक्ष बयकको पार्टी सदस्यता खारेज
काठमाडौं , १ असार । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहि काम गर्दै आएका मनबहादुर बयकको पार्टी सदस्यता खारेज भएको छ। अछाम जिल्ला सेक्रेटरी जयसिंहले विज्ञप्तिमार्फत दलाल सरकारको मतियार बन्दै वर्गघात गरेको हुँदा मनबहादुर बयकलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्काशन गरेको बताएका छन ।
सेक्रेटरी जयसिंहले विज्ञप्तिमा भनेछन्, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्ला समिति तुर्माखाँद गाउँपालिका वडा नं. ४ बस्ने मनबहादुर बयक पार्टी साधरण सदस्य तथा अखिल नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहि काम गर्दै आएको र केपी–पिके सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीलाई २०७५ फागुन २८ गतेदेखि नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइसके पश्चात दलाल सरकारको मतियार बन्दै वर्गघात गरेको हुँदा उहाँलाई आजको मितिदेखि पार्टी साधारण सदस्य तथा शिक्षक संगठनको सदस्य नरहनेगरी निष्काशन गरिएको व्यहोरा यस प्रेस विज्ञप्तिमार्फत जानकारी गरिन्छ ।