राईनलाई तत्काल रिहा नगरे कडा संघर्ष !
काठमाडौँ, १ असार । नेपाल कम्युनिस्ट पार्टीले जिल्ला सदस्य तथा युवा सङ्गठन नेपालका केन्द्रिय सदस्य जाहिर राईनलाई तत्काल रिहा गर्न माग गरेका छ । ने.क.पा. धनुषाका इन्चार्ज प्रकाश र सेक्रेटरी ताराले आज विज्ञप्ति जारी गरी जेठ ३१ गते पार्टी सङ्गठनको कामको सिलसिलामा रहेको बेला प्रहरीले राईनलाई धनुषाबाट अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “वर्तमान केपी–बादलमण्डली सरकारको यसप्रकारको गैरकानुनी, गैर राजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ ।”
दमन, गिरफ्तार र झुट्टा मुद्दाले इतिहासमा कहिल्यै जनताको मुक्ति आन्दोलन नरोकिएको र नरोकिने स्मरण नेकपाले यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार राईनलाई तत्कालै विनासर्त ससम्मान रिहा गर्न माग गरेको छ ।
उनलाई रिहा नगरे सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने चेतावनी समेत दिएको छ ।