देशैभर उखरमाउलो गर्मी

२०७६ असार २ गते, सोमबार

काठमाडौं, २ असार । जल तथा मौसम विज्ञान विभागका अनुसार जलवायु परिवर्तन र बढ्दो शहरीकरणले गर्दा नै यस पटक धेरै गर्मी महसुस भएकाे हो । मनसुन आइपुग्न ढिलाइ हुँदा एक सातायता देशैभरको तापक्रम बढेको छ । मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । अझै चार–पाँच दिन मनसुन प्रवेश गर्ने छाँट छैन । शुक्रबार काठमाडाैंमा याे वर्षकै धेरै गर्मी महसुस गरिएकाे थियाे । जल तथा मौसम विभागका अनुसार शुक्रबार काठमाडौंमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । गतवर्ष सन् २०१८ को मे महिनामा सैभन्दा बढी ३१.५ डिग्री तापक्रम रेकर्ड भएको थियो । सन २०१७ को मे महिनामा काठमाडौंमा ३१.६ डिग्री सेन्टिग्रेड तापक्रम रहेको थियो । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसम्म पुगेको थियो भने आइतबार ३२ डिग्री सेल्सियको हाराहारी तापक्रम थियो । नेपालीको सबै भन्दा बढी गर्मी हुने नेपालगञ्जमा भने शनिबार अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो ।
काठमाडाैंमा मात्रै नभएर याे वर्ष नेपालका ठूला शहरहरूमा धेरै गर्मी महसुस भएकाे छ । पाेखरामा पनि यसपाली ३४.० डिग्री तापक्रम पुगेकाे छ । मौसम विज्ञान विभागका अनुसार पोखरामा शनिबार ३४.० डिग्री तापक्रम पुगेकाे थियाे । गतवर्षको जुन सबैभन्दा बढी ३३.२ डिग्री तापक्रमको पुगेकाे थियाे ।
चितवनमा पनि शनिबार याे वर्षकै सबैभन्दा बढी महसुस भएकाे थियाे । भरतपुरमा शनिबार ३८ डिग्री सेल्सियस तापक्रम मापन गरिएकाे थियाे । शुक्रबार चितवनको तापक्रम ३७ डिग्री सेल्सियस कायम गरिएकाे थियाे।
विराटनगरमा शुक्रबार ३८ डिग्री सेल्सियसम्म पुगेको थियाे । शुक्रबारको तापक्रम पछिल्लो दुई महिनाकै अधिक हो । हावापानी फिल्ड कार्यालय विराटनगर विमानस्थलका अनुसार जेठ २६ गते अधितम तापक्रम ३२ डिग्री थियो ।
भैरहवा क्षेत्रमा शनिबार देशमै सबैभन्दा बढी तापक्रम मापन गरिएको थियाे । शनिबार भैरहवाले नेपालगन्ज र धनगढीलाई पनि भैरहवाको तापक्रमले उछिनेको थियाे । भैरहवामा शनिबार अधिकतम तापक्रम ४३.३ डिग्री मापन गरिएकाे थियाे ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसम विज्ञ अर्चना श्रेष्ठका अनुसार विगत ४० वर्षदेखि नै सामान्यरूपमा काठमाडौं तथा पहाडी क्षेत्रको तापक्रम बढ्दै गएको पाइन्छ । काठमाडौं उपत्यका लगायत देशका ठूला शहरहरूमा अत्यधिक तापक्रम वृद्धि भएको भन्दा पनि बढ्दो शहरीकरणले नै बढी गर्मी महसुस भएको श्रेष्ठ बताउछन् । उनकाे अनुसार काठमाडौं उपत्यकामा भएको बोटबिरुवाहरू मासिँदै गएको र हावा नै छेकिने गरी बनाइएका ठूला-ठूला घर तथा भवनहरूले गर्दा एकदमै गर्मी र अप्ठ्यारो अनुभव भएकाे हाे । देशैभर गर्मी बढ्दै जानुकाे मुख्य कारण भनेको जलवायु परिवर्तन र विश्वभर भएको तापमान वृद्धि नै भएकाे श्रेष्ठ ठहर छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अब भने देशैभरको तापक्रम नबढ्ने जनाएको छ । हिजाे आइबार दिउँसोदेखि स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव बढेपछि थप गर्मी नबढ्ने पूर्वानुमान महाशाखाको भनाइ छ । मनसुन पूर्वी नेपाल हुँदै पश्चिम जाने भएकोले पूर्वमा भन्दा पश्चिममा अझ थप केहिदिनसम्म गर्मी रहने महाशाखाले जनाएको छ । अबको तीन/चार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद् नगरकोटीको भनाइ छ। सामान्यतया नेपालमा जेठ अन्तिम साता (जुन १०) मा मनसुन सुरु हुने भए पनि केही वर्ष यता मनसुन धकेलिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]