अपघटित अनुहार – बलराम तिमल्सिना

मन लागे पनि नलागे पनि
हामीहरू हेर्न बाध्य छौं
एउटा अपघटित अनुहार !
अपघटित भएपछि हाँसो
अहो !
डरलाग्दो हुने रहेछ
अपघटित भएपछि वाणी
अहो !
घिन लाग्दो हुने रहेछ !
असल असल शब्दहरू पनि
अश्लिल सुनिने रहेछ
हिजोसम्मको प्रिय मान्छे
जव अपघटनको शिकार बन्छ
घिन लाग्दो देखिने रहेछ अनुहार !
देख्न छोडेपछि आँखाले
सुन्न छोडेपछि कानले
सोच्न छोडेपछि दिमागले
मान्छे, मान्छे जस्तै नहुने रहेछ !
एउटा अपघटित मान्छे,
कति क्रुर र रक्तपिपासु हुने रहेछ ?
कति अनैतिक ,
कति आक्रामक र कामातुर हुने रहेछ ?
अपघटित मान्छेसँग
मान्छेको अपेक्षा गर्नु
अहो ! कत्रो ठूलो बालहठ हुने रहेछ ।
देशको राजनीतिक रङ्गमञ्चमा
हिजोआज
तिनै अपघटितहरूको बोलवाला छ
मन लागे पनि नलागे पनि
हामी भोग्न बाध्य छौं
अपघटितहरूको स्वेच्छाचारी शासन !
अपघटितहरूको शासन खप्नु
संसारका सबै यातनाहरू भन्दा कठोर रहेछ !
आँखा चिम्म गरेर बस्दा पनि
घुमिरहेकै छ
एउटा अपघटित अनुहार
र मुसाले जस्तै
टोकिरहेछ मेरो दिमाग !