‘छोराको लास हेर्न पनि दिइएन’
काठमाडौँ , ७ असार । नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलका पिता खिलकराज पौडेलले छोराको हत्या भएको ठोकुवा गरेका छन् । ७२ वर्षीय पौडेलले भने- ‘मुलुकमा गणतन्त्र आएको छ कि छैन ? मेरो छोरालाई प्रहरीले समातेर गोली हानेको छ,’ ‘गोली हानेर मारेपछि पनि लास हेर्न दिएको छैन ।’ गणतन्त्रमा सबै विचारका पक्षधरले आफ्ना कुरा राख्न पाउनुपर्ने अधिकार रहेको उनले बताए । ‘राज्यका लागि केही गलतै गरेछ भने प्रहरीले पक्राउ गरेर कानुनी कारबाही चलाउनुको साटो समातेर गोली हानेर मार्न पाइँदैन,’ उनले भने, ‘निर्दोष र निःशस्त्र मान्छे मार्ने सरकार कसरी गणतन्त्रको पहरेदार हुन सक्छ ? मुलुकमा अहिले गणतन्त्र हैन लुटतन्त्र छ, यसको विरुद्धमा आवाज उठाउँदा छोरालाई केही नेताको उक्साहटमा मार्न लगाइएको छ ।’
यसैगरी , मृतक कुमारका भाइ हरिकृष्ण पौडेलले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। ‘निशस्त्र व्यक्तिलाई हातमा पेस्तोल थमाएर, दोहोरो भिडन्तको नाममा हत्या गरिएको छ,’ उनले भने, ‘तपाई पत्रकारहरूले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइदिनोस्।’ निष्पक्ष छानबिनको प्रत्याभूति नभएसम्म दाजुको शव नबुझ्ने समेत उनले बताए।