‘तेल ट्यांकर नियन्त्रणमा लिनु बदलाको भावना हो’

२०७६ श्रावण ५ गते, आईतवार

काठमाडौं, ५ साउन । बेलायती विदेशमन्त्री जेरेमी हन्टले बदलाको भावनाअनुसार नै इरानले आफूहरुको एउटा ट्यांकर कब्जा गरेको बताएका छन् । विदेशमन्त्री हन्टले इरानी विदेशमन्त्री जवाद जारीफसँग टेलिफोनमा कुरा गरेपछि इरानले गत जुलाइमै आफ्नो तेल ट्यांकर कब्जा भएको घटनाको जवाफ दिन बेलायतको तेल ट्यांकर खाडी क्षेत्रमा नियन्त्रणमा लिएको बताएका हुन् । इरानको तेल ट्यांकर नियन्त्रणमा लिनुमा बेलायतको मुख्य भूमिका रहेको इरानी भनाइ छ । अहिले बेलायती तेल ट्यांकर नियन्त्रणमा लिएर त्यसको जवाफ दिएको इरानी पक्षको आशय रहेको हन्टले जानकारी दिए ।
इरानले तेलको ट्यांकर नियन्त्रणमा लिएपछि उत्पन्न तनाव अन्त्य गर्न बेलायत प्रयासरत रहेको भन्दै विदेशमन्त्री हन्टले खाडी क्षेत्र हुँदै आवत–जावत गर्ने सबै पानी जहाज तथा ट्यांकरको सुरक्षा पनि सुनिश्चित गरिने बताए । बेलायती तेल ट्यांकरले अन्तर्राष्ट्रिय समुद्री नियम उल्लंघन गरेको इरानी आरोप छ । इरानी विदेश मन्त्री जारीफले हन्टसँगको टेलिफोन वार्ताका क्रममा नियन्त्रणमा लिएको तेल ट्यांकरका सम्बन्धमा कानूनी प्रक्रिया सुरु गर्नुपर्ने र त्यसपछि मात्रै रिहा गर्न सकिने बताएको इरानी समाचार संस्था इरनाले जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]