माइला लामाको बयान सकियो, आज बहस हुने

२०७६ श्रावण ७ गते, मंगलवार

काठमाडौं, ७ साउन । काठमाडौंको काडाँघारिबाट गिरफ्तार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका व्युरो इन्चार्ज माइला लामा ‘प्रज्वल’को बयान सोमवार सकिएको छ । नेता लामासँग ललितपुर जिल्ला अदालतले आइतवार र सोमवार दुई दिन बयान लिईएको थियो । बयान सकिएलगत्तै उनलाई महानगरिय प्रहरी परिसर जावलाखेल लगिएको थियो । बयानका क्रममा आफुमाथि राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरी झुठो मुद्धा लगाईएको बताएका थिए ।
नेता लामामाथि ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विस्फोट तथा हातहतियार सम्बिन्धी अभियोग लगाइएको छ । बयान सकिएकाले भोली बहस हुने भएको छ । इन्चार्ज लामालाई प्रहरीले शनिवार राति साढे १२ बजे काठमाडौं काडाँघारीबाट गिरफ्तार गरेको थियो ।
तत्कालिन दसवर्षे जनयुद्धको थालनी हुनुभन्दा केही वर्ष अघिदेखि नै त्यसको तयारी, प्रचारप्रसार, जनचेतना र संगठन निर्माण–सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निभाएका माइला लामा जनयुद्धको थालनीदेखि ‘अन्त्य’ सम्म विभिन्न भूमिकामा रहेर सक्रिय थिए । जनयुद्धकै क्रममा उनको आँखाको दृष्टि र कानको श्रवणशक्ति गुमेको थियो । जनवादी कलाकार समेत रहेका लामा पहिलो संविधासभा निर्वाचनमा काठमाडौं– ९ मा चुनाव भिडेर झिनो मतान्तरले पराजित भएका थिए ।
कार्यकर्तामाझ अत्यन्तै कुशल, भरोसापूर्ण र अभिभावकत्वपूर्ण नेतृत्वका रुपमा स्थापित नेता लामा दोस्रो संविधानसभा निर्वाचनमा भने निर्वाचन बहिस्कारमा सक्रिय थिए ।
माइला लामा जनयुद्धकालदेखि हालसम्म नै आम सर्वसाधारण जनता, तमाम लेखक–साहित्यकार एवं सबै क्षेत्रका कलाकार–सर्जकहरुबीच निकै आत्मीय, सम्मानित र स्थापित व्यक्ति हुन् ।

प्रतिक्रियाहरु

[anycomment]