प्रचण्ड, बाबुरामलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने चेतावनी

२०७६ श्रावण ९ गते, बिहीबार

काठमाडौं, ९ साउन । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका इन्चार्ज लेनिन बिष्टले प्रचण्ड, बाबुरामलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने चेतावनी दिएका छन । उनले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत (दी हेग) जाने चेतावनी दिएका हुन् । बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गदै उनले आफूहरुको पुनःस्थापनाका लागि सहयोग नगरे तत्कालीन माओवादीका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराईलगायतलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पुर्‍याउने चेतावनी दिएका हुन् ।
‘कि त प्रभावित बालबालिकाहरुका लागि आवश्यक र उपयुक्त सहयोग गरियोस् कि त सरकार र सरोकारवाला पक्षले बालसैन्य भर्तीबाट भएको अधिकारको उल्लंघनको जिम्मेवारी लिइयोस्’–बिष्टले भने । ‘तीन महिनाभित्र प्रचण्ड, बाबुराम भट्टराईलगायतका नेताहरुलाई हेग पुर्‍याइनेछ’–उनले भने । उनले ‘जनयुद्ध’को औचित्य पुष्टि गर्न चुनौतीसमेत दिए । भविष्यमा फेरि गरिब नेपालीका छोराछोरी युद्धमा प्रयोग हुँदैनन् भन्ने सुनिश्चितता गर्नुपर्ने उनको भनाइ थियो ।सामाजिक न्यायमा आधारित भएर एकमुष्ट सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर लागू गर्न उनले माग गरे । तीन महिनाभित्र निःशर्त माग पूरा नगरे ‘हेग’ जानुको विकल्प नभएको जिकिर उनले गरे । बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष असिम लिम्बूले माग पूरा नगरे दाहाल र भट्टराई जेल जाने बताए । ‘जायज माग सम्बोधन तत्काल नगरिए प्रचण्ड र बाबुरामलाई जेल जानबाट कसैले रोक्न सक्दैन’–उनले भने ।
पत्रकार सम्मेलनमा बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष राजन थापाले शान्ति–प्रक्रिया पूरा नभएको भन्दै बालसैन्यको मुद्दा सम्बोधन नभएसम्म शान्ति–प्रक्रिया पूरा नहुने बताए ।उनले भने–‘जबसम्म शान्ति–प्रक्रियाको हिस्सा बालसैन्य र बहिर्गमित जनमुक्ति सेनाको जायज माग सम्बोधन हुँदैन, तबसम्म शान्ति–प्रक्रिया पूरा हुँदैन ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु