हेड सर हुने हानाथाप– बलराम तिमल्सिना

एकादेशमा एक दिन
स्कूलप्रेमीहरूले
स्कूल खोल्ने कुरा गरेछन् !
स्कूल खोल्नुअघि
हाना थाप परेछ
को हेड सर हुने भन्ने !
कुन तहको स्कूल हो ?
प्रि-प्राइमरी
प्राइमरी
लोयर सेकेण्डरी
सेकेण्डरी
या हाइयर सेकेण्डरी
यो वारेमा कुनै गलफद्दी परेन !
कुन विषय पढाउँने
ढाँट
छल
चोरी
ठगी
गद्दारी
आत्मसमर्पण
या समाज रुपान्तरण ?
सोच्ने कसैलाई फुर्सद भएन
इतिहास
संस्कृति
समाज विज्ञान
दर्शन
अर्थशास्त्र
कोकशास्त्र
या राजनीति शास्त्र
कसैले सोच्दै सोचेन !
के नाम राख्ने स्कूलको
माकाफुइँ विद्या सदन
अरिङ्गाल एकता गोलो
तस्कर उत्पादन एकेडेमी
या आदित्य अध्यात्म केन्द्र ?
कसैले ख्यालै गरेन !
न स्कूलको तह छ
न पाठ्यक्रम
न विषय छ
न विद्यालयको नाम
न शिक्षकको योग्यता
न विद्यार्थीको अनुशासन
केवल स्कूल खोल्ने कुरा छ
र हानाथाप छ हेड सर बन्ने !
हेड सर हुने योग्यता के ?
कसैलाई मतलव छैन
मतलव छ
को कुन घरानीयाँको बन्छ !
दुई मुखिया छन्
उनीहरूले छान्ने छन् हेड सर
हेड सरको योग्यता
नियुक्तिपछि थाहा हुने छ वल्ल
अहिले भने चलिरहेछ
हेड सर हुने हानाथाप !