दुर्घटित यात्रा – बलराम तिमल्सिना

खलाँतीजस्तै गरेर
एक्लै चलिरहेछ फोक्सो
एक्लै उफ्रिरहेछ मुटु
एक्लै टोलाइरहेछन् आँखा
एक जोडा खुट्टा
हिड्नुको मनितो राखिरहेछन्
कहाँ पुग्न हिडेको हो
खुट्टाहरूलाई नै थाहा छैन
न कहीं पुग्नु पर्ने हतार छ
न कहीं नपुगिएकोमा सुर्ता छ
साथी
एउटा यात्रा यसरी दुर्घटित भएको छ !
ओठहरू चलिरहेछन्
केही आवाज आइरहेको छ
आवाजको अर्थ के हो
ओठहरूलाई नै थाहा छैन
ओठहरू चलिरहेका छन्
ताली बजिरहेका छन्
किन बजेका हुन् ताली
स्वयम् हातहरूलाई थाहा छैन
साथी,
एउटा गह्रुङ्गो भाषा
यसरी दुर्घटित भयो
र एउटा अश्लिल गालीमा बदलियो !
कि सहिद भन्छु
कि जितेर फर्कन्छु भन्ने योध्दाहरू
मर्दा पनि नमरिकन
जीत पनि हाँसिल नगरी
रित्तो हात फर्केका छन्
कोही फेरि डिटोनेटर खोज्दै छन्
कोही ‘दुश्मन’का मित्र बनेका छन्
र कोही सुसाइड नोट लेख्दै छन्
र तिनका ‘महान’ कमाण्डरहरू
समृध्दिको स्वर्गमा
सुनको अँगालोमा मस्किरहेछन्
साथी ,
एउटा महा-आख्यानको अन्त
यसरी दुर्घटित भयो
र लेखियो –
महापतनको उपसंहार !