मालपोत अधिकृत घुससहित पक्राउ
काठमाडौं, ४ भदाै । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुससहित पक्राउ परेका छन् । अधिकृत कुँवर ५९ हजार रुपैयाँ सहित पक्राउ परेका हुन् । जग्गाको रजिष्ट्रेसन पास गर्न आवश्यक पर्ने सबै कागजात पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर लिएको घुससहित मालपोत अधिकृत पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले कुँवरलाई घुस लिइसकेको अवस्थामा पोखरा–७ मुस्ताङ चोकबाट नियन्त्रणमा लिएको हो । ५९ हजार रुपैयाँ घुससहित पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।