स्याउ टिप्न भ्याइनभ्याई
काठमाडौं, १२ भदाै । जुम्लाका स्थानीयलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिने गरेका छन् । स्याउ टिप्न शुरु भएसँगै व्यापारी स्याउ बगैँचामै आएर खरीद गर्ने क्रम बढेको छ । स्याउ खरीद गर्न नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत स्थानका व्यापारी जुम्ला आएका छन् ।
भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैँचा खाली गरिसकेका छन् । ढिलो टिपे स्याउ बिक्री नहुने समस्याले धमाधम बगैँचा खाली हुन थालेका हुन् ।
यस वर्ष जुम्लामा छ हजार १०० मेट्रिकटन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्र जुम्लाको छ । जिल्लाको स्याउ उत्पादनबारे प्राविधिकले तथ्याङ्क सङ्कलन गरिहेको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले बताए । उनका अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको अनुमान गरिएको छ । देवकोटाले स्याउको बजार वर्षेनी बढिरहेको बताउनुभयो । केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलङ्गा बजारमा लैजानुपर्ने बाध्यता थियो । यस वर्ष व्यापारी बगैँचामै पुगेर धमाधम स्याउ खरीद गरिरहेका छन् ।