सम्पादक हमालको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना
काठमाडौं , १८ भदौ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय पुगी पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । महासंघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ । पत्रकारहरुले पत्रकार ओम हमाललाई रिहा गर्न र सर्वोच्च अदालतको आदेश पालना गर्न सरकारलाई आग्रह गरेका छन् । कास्कीको सिसुवाबाट भदौ ६ गते गिरफ्तार परेका हमाललाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर रिहा भएलगत्तै सर्वोच्च अदालतको गेट नजिकैबाट प्रहरीले फेरि पुन गिरफ्तार गरेको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य पत्रकार हमाल जनसञ्चार डट कम अनलाइनका सम्पादक हुन् ।