तुहियो गोर्खाल्याण्ड आन्दोलन
१२ असोज । गोर्खा जनमुक्ति मोर्चाले फेरि ‘गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्ट्रेशन’ (जिटिए) मैं चित्त बुझाएको छ । हिजो सम्पन्न जिटिए बैठकले मोर्चाकै अगुवा नेता तथा सभासद विनय तामाङलाई कार्यकारी प्रशासकमा नियुक्त गर्न सिफारिस गर्दै गोर्खाल्याण्ड राज्यको साटो सीमित अधिकारप्राप्त यही स्वायत्त निकायलाई निरन्तरता दिने निर्णय गरेको हो । मोर्चाको निर्णयलाई गोर्खाल्याण्ड पक्षधरले चर्को विरोध गरेका छन् ।
आन्ध्रप्रदेशबाट तेलङ्गनालाई छुट्टै राज्यको मान्यता दिइने भएपछि जुलाई अन्तिमदेखि गोर्खाल्याण्ड राज्य प्राप्तिका लागि आन्दोलन चर्किएलगत्तै जिटिए कार्यकारी प्रशासकबाट मोर्चा अध्यक्ष विमल गुरुङले राजीनामा दिएपछि रिक्त पदमा तामाङलाई नियुक्त गर्न सिफारिस गरिएको हो । आन्दोलन ब्युँतिएलगत्तै पक्राउ परी अगष्ट २१ देखि बाग्राकोट जेलमा रहेका तामाङ जिटिए कार्यकारी प्रशासक भएपछि पश्चिम बंगाल सरकारले उनलाई तत्काल रिहा गरि दार्जिलिङ पठाउने तयारी थालेको छ। तामाङ सिक्किमबाट पक्राउ परेका थिए ।
दार्जिलिङको डाली गुम्बा नजिकै घर भएका ४८ बर्षीय तामाङ मोर्चाका अगुवा नेतामध्ये शिक्षित, नम्र र मृदुभाषीका रुपमा परिचित छन् । सेन्टजोसेफ कलेजबाट ग्रयाजुएट गरेका उनी मोर्चाको सह–सचिव हुन् । पक्राउ परेपछि बंगाल सरकारका तर्फबाट उनीमाथि डुवर्सको सिव्सु घटनामा सामेल भई सरकारी सम्पतीमाथि आगजनी गरेको, राष्ट्रिय राजमार्ग बन्द गरेको र सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न भएको आरोपमा बाग्राकोट जेलमा राख्दै आएको थियो। तामाङ मोर्चा अध्यक्ष विमल गुरुङका विश्वासपात्र मानिन्छन् ।