जनसरकार प्रमुख सुनार पार्टीवाट निष्कासित

२०७६ आश्विन ११ गते, शनिबार

काठमाडौं, १० असाेज । नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरका पूर्वजिल्ला जनसरकार प्रमुख वीरसिंह सुनारलाई पार्टी वाट निस्काशन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका पार्टी सेक्रेटरी करनले विज्ञप्ति जारी गर्दै पूर्वजिल्ला जनसरकार प्रमुख वीरसिंह सुनार पलायन भएको र अर्को जनसरकार प्रमुख चुनिएको जानकारी गराएको हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘महान् सर्वहारा वर्गको अग्रदस्ता पार्टी नेपाल कम्युनिस्ट पार्टी देश र जनताको आशा÷भरोसाको केन्द्रबिन्दु हुँदै गइरहेको छ । जनतामाझ न्यायको विकल्प बन्दै गइरहेको बेलामा पूर्वजनसरकार प्रमुख वीरसिंह सुनारको पार्टी परित्याग घोषणाको विषय राजनीतिक बेइमानी मात्र नभएर उक्त व्यक्तिकालागि पनि लज्जास्पद विषय हो ।’
करनले विज्ञप्तिमा भनेका छन्, ‘यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । केही महिनाबाट हाम्रो पार्टीको लोकप्रियता देखेर आत्म हत्या गर्न लागेको दलाल केपी सरकारले आफ्नो मृत्यु जोगाउन हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । त्यो समयबाटै सम्पर्कमा नरहेर भारततिर भागेका कायर सुनारलाई हाम्रो पार्टीले दुई महिना पहिलादेखि पार्टीबाट निष्कासित गरेको जानकारी गराउन चाहन्छु ।’ विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘साथै सम्पूर्ण किसान, मजदुर, श्रमजीवी, मध्यमवर्ग, पार्टी पङ्क्तिलाई डटेर दलाल सरकारको प्रतिबन्धको प्रतिवाद गर्न हार्दिक अनुरोध गर्दछु र हाम्रो जिल्लामा विगत २ महिनादेखि अर्को कमरेडलाई जनसरकार प्रमुखको जिम्मेवारी रहेको आम जनसमुदायलाई जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रियाहरु

[anycomment]