बोइङद्वारा ‘७३७ म्याक्स’ उत्पादनमा अस्थायी रोक

२०७६ पुष १ गते, मंगलवार

काठमाडौं , १ पुष । अमेरिकाको विमान निर्माता कम्पनी बोइङले उसको एउटा प्रमुख विमान ‘७३७ म्याक्स’को उत्पादनमा अस्थायी रोक लगाउने बताएको छ । इन्डोनेशिया तथा इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका विमानको उडान संसारभरि रोकिएको थियो। बोइङको यो निर्णयले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरि रहेका आपूर्तिकर्ता एवं विमानसेवाहरू प्रभावित हुने बताइएको छ।
दुईवटा घातक दुर्घटनाका कारण नौ महिनादेखि उडान रोकिएको भए पनि उक्त नयाँ किसिमको जेट मोडलको उत्पादन भने जारी थियो। इन्डोनेशिया तथा इथियोपियामा उक्त जेट मोडलको नयाँ फीचरमा समस्या देखिएका कारण भएका दुर्घटनामा ३०० जनाभन्दा धेरैको ज्यान गएको थियो। ती दुर्घटनाका मुख्य कारक ठानिएको स्वचालित नियन्त्रण प्रणालीको समस्या समाधान गर्न बोइङले त्यसको पुनः डिजाइन गर्ने बताउँदै आएको थियो। अब भने बोइङले ७३७ म्याक्सको निर्माण ज्यानुअरी महिनादेखि स्थगन गर्ने जनाएको छ। विश्वभरि नियामक निकायहरूले उक्त विमानको सुरक्षाबारे छानबिन गर्दै गर्दा कम्पनीले अहिले स्टकमा रहेका ती विमानलाई हस्तान्तरण गर्नेपट्टि प्राथमिकता दिने बताएको छ।- एजेन्सी ।

प्रतिक्रियाहरु

[anycomment]