तराईमा शितलहर जनजीवन प्रभावित

२०७६ पुष ८ गते, मंगलवार

काठमाडौँ , ८ पुष । तराईमा शितलहर तथा चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अत्याधिक चिसोबाट कठ्याँग्रिएर रौतहटमा चारजनाको मृत्यु समेत भएको छ । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्मा, गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको मृत्यु भएको हो। बैठा र माझीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा चिसोका कारण चारजनाको मृत्यु भएको जानकारी आएको बताउनु भयो । तर, यसबारे मेडिकल रिपोर्ट भने नआएको उहाँको भनाइ छ। जिल्ला अस्पताल रौतहटका डा. कृष्ण साहले चिसोको कारण मृत्यु भएको हो वा हैन भन्नेकुरा काठमाडौंस्थित त्रिवि टिचिङ अस्पतालमा पोष्टमार्टम भएपछि मात्रै थाहा हुने बताए ।
अत्यधिक चिसो बढेपछि तीनवटा नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। गरुडा, राजदेवी र वृन्दावन नगरपालिकाले सूचना प्रकाशन गरी आगामी शुक्रबारसम्म विद्यालय बन्द गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]