चिसो बढ्दा जनजीवन कष्टकर

२०७६ पुष १८ गते, शुक्रबार

काठमाडौं , १८ पुष । काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण चिसो बढेको हो । काठमाडौंमा बिहानदेखि सिमसिम पानी परेको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ । आज सबैभन्दा चिसो डडेल्धुरा रहेको छ । डडेल्धुराको आजको न्यूनतम् तापक्रम १.५ डिग्री सेल्सियस छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा मध्यम वर्षाको संभावना रहेको छ । आजराति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा वर्षा हुने जनाईएको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढ्ने हुँदा सर्तकता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यता मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ । त्यस्तै कर्णाली प्रदेशमा पनि वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेंसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

प्रतिक्रियाहरु

[anycomment]