ने.क.पा. ले जनयुद्ध दिवस भब्य रुपमा मनाउने : देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने

काठमाडौँ, २६ माघ । नेपाल कम्युनिस्ट पार्टीले २५ औं जनयुद्ध दिवस भब्य रुमा मनाउने बताएको छ । जनयुद्धवाट राजनीतिमा उदाएका प्रचण्ड, बाबुरामलगायत कैयौँ नेताहरू दलाल पुँजीवादको प्रतिनिधित्व गर्न पुगिसकेको समयमा नेकपाले भने जनयुद्धको भावना र मर्मलाई लक्ष्यमा पु¥याउन संघर्ष जारी राखेको छ । त्यसैको अभिव्यक्तिका रूपमा उसले २५ औँ जनयुद्ध दिवस भब्य रुपमा मनाउन लागेको बुझिएको छ । जनयुद्ध दिवसअन्तर्गत फागुन १ गते देशव्यापी जनप्रदर्शन र जनसभा हुने बताइएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत फागुन २, ३ र ४ गते विभिन्न रचनात्मक कार्यक्रमहरू गरिने भएको छ । फागुन ५ गते भने देशव्यापी रूपमा साहित्यिक कार्यक्रमहरू गरिने नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । जनयुद्ध दिवसको कार्यक्रमअन्तर्गत नेपाल कम्युनिष्ट पार्टीले फागुन १० गते भारतले कब्जा गरेको भूमि फिर्ता गर्न र एमसीसी सम्झौता खारेज गर्न माग गर्दै देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्ति कार्यदिशामार्फत वैज्ञानिक समाजवादी क्रान्ति गर्ने नीति लिएको छ । जनयुद्ध दिवसका सन्दर्भमा नेकपाले पार्टीपंक्ति र जनताका बीचमा पार्टीको यो वैचारिक, राजनीतिक र नीतिका सन्दर्भमा अभियानात्मक बहस चलाउने समेत बताएको छ ।
स्मरणीय छ, २०४८ सालमा चितवनको माडीमा भएको एकता महाधिवेशन (छैटौँ महाधिवेशन) ले नेपालमा ‘दीर्घकालीन जनयुद्ध’ कार्यदिशामार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०५२ फागुन १ गते जनयुद्ध सुरु गरियो । फागुन १ गते देशव्यापी सानाठूला सयौँ कारबाही भएका थिए । त्यसमध्ये पाँचवटा मुख्य कारबाहीहरू भए । त्यसमा रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र सिन्धुलीको सिन्धुलीगढी प्रहरीचौकीमाथि आक्रमण भएको थियो । ती आक्रमण दुश्मनको सुरक्षा चौकीमाथि आक्रमण गर्ने, त्यसलाई विघटन गरेर नयाँ सत्ता स्थापना गर्ने पार्टीनीतिको अभिव्यक्तिका रूपमा गरिएका थिए । त्यसैगरी गोरखाको च्याङ्लीमा रहेको साना किसान विकास आयोजना नामको कृषि विकास बैङ्कको वित्तीय शाखामाथि आक्रमण भएको थियो जसलाई किसानको रक्षा र नोकरशाही पुँजीवादमाथि प्रतीकात्मक कारबाही मानिएको थियो । त्यसैगरी फागुन १ गते नै काठमाडौँ जडिबुटीस्थित बहुराष्ट्रिय कम्पनी पेप्सीकोलामाथि आक्रमण गरिएको थियो जसलाई एकाधिकार पुँजीवादमाथि आक्रमण भनिएको थियो । त्यसरी फागुन १ गते प्रतिक्रियावादी सत्ताको सुरक्षा, बहुराष्ट्रिय कम्पनी र दलाल तथा नोकरशाही पुँजी सबैतिर प्रतिनिधित्व गर्ने कारबाहीहरू भएका थिए ।
त्यसैगरी जनयुद्धपूर्व नै प्रतिबद्धतापत्र पनि सार्वजनिक गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टीले आजको सन्दर्भमा कार्यदिशालाई थप विकास गर्दै ‘एकीकृत जनक्रान्ति’ तयार गरेको छ । हिजो सामन्तवाद र नेपाली जनताका बीचमा प्रधान अन्तरविरोध रहेको हुनाले नयाँ जनवादी क्रान्ति गर्नुपर्ने थियो तर आज नेपालमा दलाल पुँजीवाद नै सत्तारूढ भएका कारण क्रान्तिको चरण पनि मूलतः समाजवादी हुन्छ । त्यसकारण नेकपाले एकीकृत जनक्रान्ति कार्यदिशामार्फत् वैज्ञानिक समाजवादी क्रान्ति गर्ने नीति लिएको छ । जनयुद्ध दिवसका सन्दर्भमा नेकपाले पार्टीपंक्ति र जनताका बीचमा पार्टीको यो वैचारिक, राजनीतिक र नीतिका सन्दर्भमा अभियानात्मक बहस चलाउने बताएको छ ।