कांग्रेसका उम्मेदवारलाई गाउँ प्रवेश निषेध
तेह्रथुम, २१असोज – नेपाली कांग्रेसका उम्मेदवार र जिल्ला तहका नेतालाई आफ्नै कार्यकर्ताले सम्दु गाविस प्रवेशमा रोक लगाएका छन् । झुटा आश्वासन लिएर चुनावको समयमा मात्र नेताहरु गाउँ पस्न लागेको भन्दै कांग्रेस र तरुणदल गाउँ कार्य समितिले निर्णय नै गरेर आगामी चुनावसम्म आफ्नै पार्टीका नेता र उम्मेदवारलाई गाउँ प्रवेशमा रोक लगाएका हुन् ।अघिल्लो संविधान सभाको निर्वाचनमा उम्मेदवार तुलसी सुव्वा, सभापती गोविन्द ढुंगाना, सचिव तेज वहादुर कार्की लगायतले दिएको आश्वासन अहिलेसम्म पुरा नगरेको कांग्रेस गाउँ कार्यसमिति सम्दुका सभापती डेग वहादुर लिम्वुले वताए । आगामी मंसिर ४ गते हुने संविधान सभाको चुनावमा पनि पहिलेकै उम्मेदवार र नेताहरु झुट्टा आश्वासन लिएर गाउँ पस्न लागेकाले उनीहरुलाई चुनाव अवधीभर प्रवेशमा रोक लगाएको तरुण दल सम्दुका अध्यक्ष शंकर लिम्वुले वताए ।आफुहरुको मत पाएर जितेका उम्मेदवार सुव्वाले गाउँमा विकास निर्माण, खानेपानी, सडक, भौतिक पुर्वाधार लगायतका काम गरिदिने आश्वासन दिएको तर कुनै पनि काम नगरेको उनले आरोप लगाए । अघिल्लो पटककै विजयी उम्मेदवार तुलसी सुव्वाले यस पटक पनि प्रत्यक्षतर्फ टिकट पाएका छन् ।आफ्नै पार्टीका कार्यकर्ताले चुनावमा गाउँ पस्न प्रतिवन्ध लगाएको बारे कांग्रेस सभापती गोविन्द ढुंगानाले पार्टी भित्रको अन्तरद्धन्दका कारण यस्तो अवस्था सृजना भएको वताए । असन्तुष्टसँग पार्टी भित्र वसेर छलफलपछि समस्या सुल्झाउने उनले वताए । ‘उनीहरुले गाउँमा केही विकासका कुरा गरेका थिए’, सभापती ढुंगानाले भने, ‘त्यस्तै झिना मसिना कुराले विवाद सृजना गर्यो ।’ चुनावी प्रचार अभियानमा जिल्लाको शुक्रवारेमा रहेका उम्मेदवार सुव्वाले आफुहरुलाई गाउँ प्रवेशमा रोक लगाउने कार्यकर्तालाई माफी माग्न लगाउने र नत्र कारवाही गरेर पार्टी वाटै निश्कासन गरिदिने चेतावनी दिए ।
यसैबीच प्रहरीले उम्मेदवार र दलका नेता कार्यकर्तालाई चुनावी प्रचार प्रसारमा गाउँ प्रवेशमा रोग लगाउनु निर्वाचन आचारसंहिता विपरीत र गैरकानुनी समेत भएको भन्दै त्यस्तो गतिविधी गरेमा तत्कालै कानुनी कारवारी गर्ने जनाएको छ । ‘जुनसुकै दलको कार्यकर्ता होऊन्’, प्रहरी नायव उपरीक्षक उमाशंकर पंजीयारले भने ‘कानुनविपरीत गतिविधि गर्ने जोसुकै कानुनको दायरामा आउँछन् ।’ उम्मेदवार र दलका नेतालाई स्वतन्त्रपूर्वक चुनाव प्रचारप्रसार गर्न पाउने वातावरण प्रशासनले मिलाउनले उनले वताए ।