चिनिया कम्युनिष्ट पार्टीको वार्षिक बैठक स्थगित
काठमाडौं, १३ फागुन । चीनले कोरोना भाइरसका संक्रमण नियन्त्रणका प्रयास जारी राख्न अर्को महिना बस्ने भनिएको कम्युनिष्ट पार्टीको वार्षिक बैठक स्थगित गरेको छ । कोरोनाका कारण विश्वव्यापी सेयर बजारमा पनि गिरावट आएको छ । त्यसैगरी कोरोनाको संक्रमणको डरले लगानीकर्ताहरुले सुरक्षित स्थान खोज्न थालेपछि विश्व बजारमा सुनको मुल्य आकासिएको छ ।
यसैबीच कोरोनाको सम्भावित महामारी रोक्न थप प्रभावकारी कदम चाल्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जाेड दिएकाे छ । भाइरसको प्रकोप महामारीको रुपमा फैलिएका देशहरुले प्रभावकारी नियन्त्रणका उपायहरु अवलम्बन गर्नुपर्ने डब्लुएचओले जनाएको हाे । चीनको हुबेइ प्रान्तबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका कारण चीनसहित विभिन्न मुलुकमा मृत्यु हुनेको संख्या दुई हजार ६ सय पुगिसकेको छ । त्यसैगरी चीनमा मात्र कोरोनाबाट ७७ हजार भन्दा बढी प्रभावित भएका छन् । पछिल्लो समय दक्षिण कोरिया, इटाली, इरानलगायतका देशमा पनि तीव्र रुपमा फैलिन थालेको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । इटालीमा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । चीन बाहेक अन्य देशमा कोरोनाका कारण २० जनाको मृत्यु भएको छ भने एक हजार दुई सय भन्दा बढी संक्रमित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । – एजेन्सी