त्यो दिनको संझना – बलराम तिमल्सिना

उनीहरू पनि
गज्जवले गर्छन् –
ती दिनको संझना !
अझ भनौं
हामीहरूले भन्दा
उनीहरूले बढी संझन्छन् ती दिनहरू !
आजको यो
स्वर्गीय सुखभोगमा
ती दिनहरूकै त योगदान छ !
ती दिनहरू त्यसरी हुदैनथे भने
यी दिनहरू एति खुसीका हुने थिएनन् !
एउटा भुत्लो नखसीकन
सर्लक्कै विते ती दिनहरू
अनि
रथयात्राको तयारी गरेर
कोठामै लिन आए यी दिनहरू !
अरुकै छोरा छोरी मरे
अरुकै बाउ-आमा व्लाक होलमा निदाए
अरुकै सन्तानका हात खुट्टा चुँडिए
अरुकै आमा-बाको काँख रित्तियो
अरूले नै गुमाए आफ्ना प्रेमी-प्रेमिकाहरू
अरुकै छानामा उम्रियो बनमारा !
उनको शरीरमा छैनन्
गोली र छर्राहरू
उनको अनुहारमा छैन
युध्दको कुनै घाउ चोट
उनका छोराहरू
अरवको खाडीमा छैनन्
बरु अरवको छेलोखेलोमा छन् !
यसरी
अरुकै छोरा-छोरीले रगत बगाएर
ल्याइदिएका
यी नाफै नाफाका दिनहरूको खातिर
उनीहरू खुव संझन्छन् ती दिनहरूलाई !
तपाईले देख्नु भयो होला
ती दिनहरूको संझनामा
उनीहरू भव्य सभा गर्छन् !
कसैका लागि ती दिन
वलिदानका दिनहरू थिए
उनीहरूका लागि ती दिन
भव्य कमाईका दिनहरू बने !
त्यसैले पनि होला
हामीहरूले भन्दा बढी
उनीहरू ती दिनको चर्चा गर्छन्
गोवर भरिएको दिमागले पनि भन्छ-
‘ती गौरवशाली दिनहरू !’
अव तपाई नै बुझ्नु होस
यथार्थमा को हुन् तिनीहरू ?