पत्रकार जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न माग

२०७६ फाल्गुन १५ गते, बिहीबार

काठमाडौं, १५ फागुन । पत्रकार जितेन्द्र महर्जनको गिरफ्तारीको विरोध गर्दै जनपत्रकार संगठन नेपालले तत्काल रिहाईको माग गरेको छ । संगठनका काठमाण्डौं जिल्ला संयोजक एवं न्हुगु जोजोलोपा साप्ताहिकका प्रधान सम्पादक र रेडियो मिर्मिरेका कार्यक्रम सञ्चालक महर्जनलाई बिनाकारण गिरफ्तार गरी झुठा मुद्धामा फसाउने सड्यन्त्र गरिएकोप्रति जनपत्रकार संगठन, नेपालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
जनपत्रकार संगठनका सचिव सिर्जना तिम्सिना र कोषाध्यक्ष जानकी चौधरीद्धारा जारी प्रेस विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारलाई पटक पटक गिरफ्तार गर्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भिर प्रहार भएको भन्दै यस्तो कार्यप्रति घोर आपत्ति जनाउदै पत्रकार महर्जनलाई अविलम्व रिहा गर्न माग गर्नु गरिएको छ ।
साथै सम्पूर्ण पत्रकारलाई स्वतन्त्र र निर्वाध रुपमा समाचार संकलन, संप्रेसण तथा प्रशारण गर्न पाउँने अधिकारको उपभोग गर्नबाट बञ्चित नगराउन र स्वतन्त्रपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न वातावरण सिर्जना गर्न, गराउन नेपाल पत्रकार महासंघ, पत्रकारसगँ सम्बन्धित संघ संगठन, नागरिक समाज, मानवअधिकारवादी संघसंस्था सबैमा हार्दिक अनुरोध पनि गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अभिव्यक्ति र प्रेस स्वतन्त्रताको पक्षमा रहेको दावी गर्ने सरकारको यो व्यवहारले कदापी पनि उसको प्रतिवद्धतालाई पुष्टी गर्दैन । अतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विद्यमान संवैधानिक व्यवस्थाको समेत प्रतिकुल हुने यस्तो कार्य अविलम्ब रोक्न माग गर्दछौं ।’
यसैबीच हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन पनि जनपत्रकार संगठनले माग गरेको छ । विज्ञप्तिमा लेखिएको छ,‘केही समय यता उनको निवास वरपर शंकास्पद व्यक्तिहरुले गतिविधि बढाएको र असुरक्षा महसुस भएको भन्दै शिवाकोटीले सार्वजनिक रुपले महासंघमा जानकारी दिएबाट पनि पत्रकारको सुरक्षाको जोखिम बढ्दै गएको हुनाले यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’
गत चैतमा गिरफ्तार भएका पत्रकार महर्जनलाई यसपटक फेरि नियमित समाचार संकलन तथा प्रकाशनको काम सकेर कार्यालयबाट घर फर्कदै गर्दा फागुन १३ गते मंगलवार साझ कीर्तिपुरको नयाँ बजारबाट प्रहरीले महर्जनलाई गिरफ्तार गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]