पूर्व-राज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय, ६७ करोड ३८ लाख बिगो र जरिवाना

२०७६ फाल्गुन १६ गते, शुक्रबार

काठमाडाैँ, १६ फागुन । विशेष अदालतले पूर्वराज्यमन्त्री एवं पूर्वसांसद सञ्जय साह ‘टक्ला’ लाई ४ वर्ष कैद सजायको फैसला गरेको छ । विशेष अदालतले साहमाथि दुई फरक आर्थिक अपराधका मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष कैद सजायको फैसला गरेको हो । उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा गरी ३३ करोड ६९ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने फैसला भएको हो ।
विशेष अदालतका सदस्यहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा साहलाई २ वर्ष कैद सजायको फैसला सुनाएको छ । साहले महत्त्वपूर्ण सार्वजनिक ओहाेदामा बसेर भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले थप त्यति नै वर्ष कैद किटान गरेर चार वर्षको कैद सजायको फैसला गरेको बताइएको छ । यो फैसलाले एउटा अपराध र त्यसमा आश्रित भएर गरिने अर्को अपराधमा पनि छुट्टाछुट्टै सजाय र जरिवाना कायम हुने नजिर बसेकाे छ । सम्पत्ति शुद्धीकरणमा साह दोषी ठहर भएका छन् भने कति सजाय गर्ने भनेर निर्धारण गर्न आगामी २९ गते सुनुवाइ तोकिएको छ ।
नयाँ मुलुकी अपराध संहिताअनुसार ३ वर्षभन्दा बढी कैद किटान हुने फौजदारी अभियोगमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ हुनुपर्छ । फैसलाको पूर्ण पाठ भने आउँन बाँकी छ ।

प्रतिक्रियाहरु

[anycomment]