गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै विधेयक दर्ता

२०७६ फाल्गुन १९ गते, सोमबार

काठमाडौं, १९ फागुन । पूर्वकानूनमन्त्री तथा सांसद शेरबहादुर तामाङले संसदमा गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै प्राइभेट बिल (गैरसरकारी विधेयक) दर्ता गराएका छन । प्रतिनिधि सभाको विधेयक शाखामा तामाङले गाँजा विधेयक दर्ता गराएका हुन् । तामाङले दर्ता गराएको गाँजा विधेयक नयाँ संविधान जारी भएपछिको पहिलो गैरसरकारी विधयेक हो। विधेयक दर्ता गरेपछि आफ्नो धारणा राख्दै तामाङले गाँजा खेतीलाई सरकारले बर्जित नगरी खुल्ला गरिदिएमा यसले स्वदेशमै रोजगार सिर्जना गरी विदेसिएका नेपाली समेत स्वदेश फर्कने वातावरण बन्ने बताए । उनले विदेशमा गाँजा निर्यात गरी मुलुकको आयआर्जन बढाउने वातावरण बन्ने बताए । साथै उनले गाँजा औषधिजन्य बनस्पति भएको उल्लेख गर्दै यसको खेतीलाई कसूर नहुने व्यवस्था गरी नियन्त्रित गाँजा खेति गर्ने व्यवस्था गर्न आवश्यक रहेकाले विधेयक दर्ता गरेको जानकारी दिए । उनले गाँजाको उपयोग औषधि निर्माण तथा यसको बोक्राको रेसाबाट कपडा लगायतका सामग्रीको उत्पादन गर्न सकिने र डाँठको फर्निचर, वोर्ड तथा इट्टासमेतको लागि उपयोगी हुनसक्ने गुण रहेको समेत बताए । पेश गरिएकाे विधेयकमा उनले गाँजा वा भाँगको दाना अचार खानाको लागि, तेल निकाली प्रयोग गर्ने गरी खाद्य पदार्थको रुपमा उपयोग गर्न सकिनुका साथै औषधीय गुण युक्त मह समेत उत्पादन गर्न सकिने उल्लेख गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]