दुखको आयतन – बलराम तिमल्सिना

छोराछोरीले मासु खान मागेको
ठ्याक्कै एक महिनापछि
जम्ला हात जोडेर कसैलाई
हात थापेको अलिकति पैसा
” यी….पैसा भेटियो ,
आज चै मासु खाने हो !”
यसो भन्दा भन्दै
जब साहु छिर्छ कोठामा
र भन्छ-
“लुच्चा ! हातमा पैसा भै भै
तँ मेरो पैसा नतिर्ने ?”
जव हातैबाट खोसेर लैजान्छ पैसा
र फेरि थप्छ-
“वाँकि पैसा भोलि जसरी पनि है
मैले भन्दिया छु !”
त्यो वेला
मुखामुख गरिरहेका
छोराछोरी र बाबुका अनुहारको
दुखको आयतन
ब्रम्हाण्ड जस्तै बन्न पुग्छ !
कसैका लागि
एक किलो मासु केही पनि होइन !
जस्तो कि
यो देशका शासकलाई
सिङ्गै देश वर्थ डे केक हो !
जस्तो कि
यो देशका सत्ताधारीहरूका लागि
यो देश उनीहरूको मौजा हो !
जस्तो कि
हरेक अभाव र महङ्गी
यो देशका लुटेराहरूको लागि
एउटा विराट महोत्सव हो !
जस्तो कि
सुनसानमा एक्लै हिडिरहेकी युवती
हरेक बलात्कारीको लागि
एउटा सुनौलो मौका हो !
जस्तो कि
भोकले छटपटिएको बेरोजगार
हरेक पूँजीपतिको लागि
भाग्यले जुराइदिएको शिकार हो !
ठूलाहरूका लागि
सानाहरूका समस्या
ती सुन्न लायक केही पनि होइनन् !
तर गरीवका थालमा पर्ने
एक चोक्टा मासु
र एक डाडु धमिलो झोल
उनीहरूका सन्तानको लागि
दशैं हो , तिहार हो
उँधौली हो, उँभौली हो
ल्होसार हो, माघी हो
फागु हो, छठ हो !
मान्छेकै मासु खाएर
मान्छेकै आँसु, पसिना र रगत पिएर
मान्छेका चिहानघारीमाथि
वैभवको अहंकार उठाएकाहरूका लागि
ससाना मान्छेहरूको
दुखको आयतन नाप्ने
कुनै फित्ता हुदैन !
ससाना मान्छेहरूका
दुखको आयतन नाप्न
ससानै मान्छेको हृदय हुनु पर्छ !