कोरोनाबारे अडियोमार्फत भ्रम फैलाउने प्रहरीको फन्दामा
काठमाडौं, ८ चैत । प्रहरीको साइबर ब्युरोले कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्जामार्फत फैलाएको भन्दै ब्युरोले पक्राउ गरेको हो। पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए ।