नेकपाले कोरोना सङ्क्रमितको उपचार नगर्ने निजी अस्पतालहरूलाई कारबाही गर्ने

२०७६ चैत्र १९ गते, बुधबार

काठमाडौं, १९ चैत । नेपाल कम्युनिस्ट पार्टीले सङ्कटको बेलामा सर्वसाधारणको उपचार नगरी भाग्ने निजी अस्पतालहरूलाई कारबाही गर्न भएको छ । त्यसैगरी नेकपाले कोरोनाका कारण देश लकडाउन भएको अवस्थामा भ्रष्टाचार गर्ने र कालोबजारी गर्नेहरूलाई पनि कारबाही गर्ने जनाएको छ । नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीले विज्ञप्ति जारी गर्दै उक्त कुरा सार्वजनिक गरेका हुन् ।

सेक्रेटरी खेमको विज्ञप्तिमा भनिएको छ, ‘यति बेला मानव जातिको अस्तित्वलाई नै सङ्कटमा पार्ने गरी कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि देश नै लकडाउन गरिएको छ । तर सरकारले आवश्यक तयारी भने गर्न सकेको छैन । सरकारले श्रमजीवीहरूका लागि कुनै पनि ठोस किसिमका राहतका कार्यक्रम ल्याएको छैन । जिल्लामा हजारौँ सङ्ख्यामा ज्यालादारी गरेर आफ्नो जीविका चलाउनेहरूको दैनिकी लकडाउनका कारण कठिन बनेको छ । उनीहरूका लागि स्थानीय निकायले राहत उपलब्ध गराउन कुनै पनि पहल नथाल्नु दुःखद् पक्ष हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दिनभर ज्यालादारी गरेर बिहान–बेलुकाको छाक टार्नेहरूका लागि स्थानीय निकायलाई राहतका कार्यक्रम ल्याउन नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची अनुरोध गर्दछ । त्यस्तै लकडाउनको मौका पारेर कालोबजारी गर्ने र तस्करी गर्नेहरूलाई कारबाही गर्न पनि माग गर्दछौँ । त्यस्तै सहज परिस्थितिमा चर्को रकम असुलेर उपचार गर्ने तर मुलुक सङ्कटमा परेको बेला अस्पताल नै बन्द गरेर भाग्ने निजी अस्पतालहरूलाई सहज रूपमा उपचार गर्न अनुरोध गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा चेतावनीको भाषामा भनिएको छ, ‘त्यस्ता जनविरोधी निजी अस्पतालहरूलाई नेपाल कम्युनिस्ट पार्टीले जनकारबाही गर्ने जानकारी गराउँछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]