म गिध्द – बलराम तिमल्सिना

म गिध्द
अर्थात सबैले गाली गर्ने दुखी चरो !
तिमीहरूका गाईबस्तु मर्छन
यत्र तत्र फालिएका हुन्छन्
कुहिरहेका हुन्छन्
फैलिरहेको हुन्छ दुर्गन्ध
र दुर्गन्धसँगै रोग ब्याँध !
म सफाई चरो
टाढाटाढाबाट पनि हेरिरहेको हुन्छु
र तत्काल ओर्लन्छु त्यहाँ
जहाँ म ओर्लन जरुरी हुन्छ !
स्यालले जस्तै
म तिम्रा खोरका खसी घिसार्दिन
बाघले जस्तै
म तिम्रा गोठका गाई निमोठ्दिन
सुतिरहेको देख्ना साथ
म हतार हतार ठुँगिहाल्दिन कसैलाई !
दूर क्षितिजबाट नियाल्छु
ओर्लन्छु र अनुसंधान गर्छु
मेरै जिम्माको हो भन्ने पक्का भएपछि
साथी बोलाउँछु
पेट पनि भर्छु- सफा पनि गर्छु !
म गिध्द
अर्थात दुनियाँले सराप्ने चरो !
युध्द तिमीहरू गर्छौ
महामारी तिमीहरूलाई आउँछ
लासहरू थुप्रिन्छन
दूर्गन्ध तिमीहरूलाई आउँछ
बिना तलव/ बिना भत्ता
बिना पुरस्कार/ बिना आदेश
म स्वविवेकले ओर्लन्छु
र थप महामारीबाट बचाउँछु !
म गिध्द
अर्थात प्रकृतिको सफाई चरो !
गिध्दे दृष्टि/गिध्दे नजर
गिध्द-चित्त/ गिध्दे आत्मा
मँग जोडेर तिमीहरूले
मान्छेलाई गाली गर्ने शब्द !
ए वुध्दिमान मान्छे !
तिमीहरूलाई थाहा छ ?
प्रकृतिबाट हामी लोप भयौं भने
चराहरूको एउटा प्रजाति मात्रै लोप हुने छैन
बरु अन्तरिक्षबाट बिचरण गर्ने
र प्रकृतिको सफाई गर्ने
एउटा निर्दोष प्राणी पनि लोप हुने छ !
सिनो खानुलाई
हाम्रो कमजोरी या खराव आचरण नसोच
मन त ताजै मासु खाने होला रे
के भोलिबाट सुरु गरौं त हामी ?
हामीले सुनेका छौं
सबैभन्दा स्वादिलो मासु
मान्छेको हुन्छ रे !