अखिल क्रान्तिकारीद्वारा नौ बुंदे माग

२०७६ चैत्र २२ गते, शनिबार

काठमाडौँ, २२ चैत । अखिल क्रान्तिकारीले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोक्न र जनतालाई आश्वस्त बनाउन सरकारले ठोस कार्य नगरेको भन्दै आकोश व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका केन्दीय अध्यक्ष चिरन्जीवी ढकाल आज एक विज्ञप्ति जारी गर्दै सो आकोश व्यक्त गरेका हुन् । अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा कोरोना भाईरसको महामारीको जोखिम र त्रासदी बढेको साथै लकडाउन गर्नु बाहेक सरकारले अरु प्रभावकारी कदम चाल्न नसकेको भन्दै उल्टै स्वास्थ्य सामाग्री खरीद पकृयामा भ्रष्टाचार भएको भन्दै यसमा संलग्न श्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई अविलम्ब निलम्बन गरी कार्बाही गर्न माग समेत गरिएको छ ।
ढकालले ९ बुदे माग अघि सार्दै विद्यार्थीहरुको चैत्र र बैशाख महिनाको शुल्क फिर्ता वा समायोजन गर्नु पर्र्ने, विद्यार्थीको डेराभाडा दुई महिनाको मिनाहा गर्नु पर्ने , अष्ट्रेलिया, अमेरीका, भारत, जापान, बंगलादेश लगायतका देशमा रहेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याएर क्वारेन्टाईनमा राखेर घर पठाउन माग गरेका छन् । साथै विज्ञप्तिमा नेपाल भारत सिमानामा अलपत्र परेका नागरिकलाई देश भित्र ल्याएर क्वारेन्टाईनमा राखि घर पठाउनु पर्ने, दैनिक ज्यालादारी, गरीब, किशान, सुकुम्वासीलाई तत्काल राहतको प्याकेज दिनु पर्ने,राष्ट्र र जनता संकटमा परेका बेला बिरामीको उपचार नगर्ने निजी अस्पतालका सञ्चालकहरुलाई जेल हाल्नु पर्ने र अस्पतालहरुलाई राष्ट्रियकरण गर्नु पर्ने, जेल तथा हिरासतमा रहेका आस्थाका बन्दीहरुलाई तत्काल रिहा गर्न, अनलाईन ह्याक गर्ने र समाचार बन्द गर्ने कार्यमा संलग्नलाई कार्बाही गर्नु पर्ने लगायतमा माग गरिएको छ ।
औषधी, खाद्यन्न, ग्यास लगायत अत्यावस्यकीय वस्तुको सहज आपुर्ति गर्नु पर्ने लगायतका माग अध्यक्ष ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै अखिल क्रान्तिकारीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आवस्यक सुरक्षासामाग्री उपलव्ध गराउन माग गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]