लकडाउन एक साता लम्ब्याउने तयारी

२०७६ चैत्र २४ गते, सोमबार

काठमाडौं, २४ चैत । आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकमा कोरोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको बताइएको छ ।
सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो । गत बिहीबार बसेको समितिको बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिने गरी केही खुकुलो पार्ने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा संक्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने तयारी गरेको बताइएको छ ।
सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै गरिसकेकाले सोही अवधीसम्म लकडाउन कायम राख्ने सरकारले तयारी गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]