सरकारका संवेदनशील र महत्वपूर्ण डाटा अलीको मुठ्ठीमा !

२०७६ चैत्र २४ गते, सोमबार

काठमाडौं, २४ चैत । गत मंगलबार प्रधानमन्त्री केपी ओलीको आईटी सल्लाहकार अस्गर अलि सञ्चालक रहेको शिरान टेक्नोलोजीज कम्पनीले काठमाडौंप्रेस डटकमको एउटा समाचार अनधिकृत रुपमा साइटभित्र पसेर डिलेट गरेको थियो। यो घटनासँगै नेपालमा डाटा सुरक्षामाथि प्रश्न उब्जिएको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयाँ एडमिन बनाएर त्यो न्युज मात्र हटाएका थिएनन्, अरु न्युज समेत हाल्न नमिल्ने बनाएका थिए । यो गंभीर साईबर अपराध मात्र हैन , प्रेस स्वतन्त्रतामाथिको ठूलो आक्रमण हो । साईबर अपराध अनुसार अलीमाथि कार्बाही हुन्छ कि हुदैन । प्रधानमन्त्री ओलीको आईटी सल्लाहकार रहेका अलीले प्रधानमन्त्रीका सल्लाहकार वा सदस्य कसको आदेश वा निर्देशनमा ह्याक गरेका हुन् ? यो सार्वजनिक हुनु जरुरी छ । यसले अली मात्र हैन उनलाई यो कामका लागि निर्देशन दिने समेत दोषी छ भनेर बुझ्न जरुरी रहेको पत्रकार महासंका एक पदाधीकारीले बताए । सोही आइडीबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र उनका छोराहरूसँग सम्बन्धित समाचार डिलिट गरिएको थियो । जुन समाचारमा अलीको पनि नाम थियो । जसमा प्रधानमन्त्रीका आइटी सल्लाहकार तथा ई–सेवाका सिइओ अस्गर अलीको नाम पनि जोडिएको थियो । तर, सार्वजनिक रूपमा चौतर्फी दबाब भएपछि सिरान टेक्नोलोजिजले गल्ती स्विकारेको छ । दिउसो सम्म उसले स्वीकार गरेको थिएन । ‘काठमाण्डूप्रेसका सम्पादक र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच संवाद चलिरहेको वेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाएको छानबिनको क्रममा पाइयो,’ सिरान टेक्नोलोजिजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाण्डू प्रेस, सम्पूर्ण प्रेस जगत् र हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौँ । साथै, यस्ता किसिमका त्रुटि दोहोरिन नदिन हामी नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधारलगायतका संयन्त्र निर्माण गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’
अब गंभीर प्रश्न छ , फेसबुकमा स्टाटस लेखेका आधारमा नागरिकलाई जेल हाल्ने सरकारले बालुवाटारभित्र जोडिएर समाचार पोर्टल नै ह्याक गर्नेलाई जेल जाल्ला कि जोगाउला ठूलो प्रतिक्षाको बिषय बनेको छ ।
यसैबीच , प्रधानमन्त्री ओलीका आईटी विज्ञ अलीले सरकारका संवेदनशील र महत्वपूर्ण डाटा गैरकानूनी बाटोबाट आफ्नो कब्जामा राखेको स्रोतले ठोकुवा गरेको छ । नागरिकता, मतदाताको विवरण, अध्यागमन, वैैदेशिक रोजागारीमा जानेको विस्तृत विवरणदेखि अधिकांश सरकारी डाटा अस्गरको कब्जामा रहेको स्रोतले बताएको छ । राजनीतिक तवरवाट नियुक्त भएका व्यक्तिलाई संवेदनशील डाटामा पहुँच दिनु गम्भीर गल्ती भएको स्रोतले ठोकुवा गरेको छ । नेपालका डाटाहरुको विश्लेषण र विक्री गर्ने एक्सटेन्सो डाटा कम्पनी एफवान सफ्टका मुख्य साझेदार अस्गर नै रहेको स्रोतको दावी छ । यस कम्पनीले बिग डाटा एनालिसिसमार्फत सामाजिक झुकाव र प्रवृत्ति अध्ययन गर्ने, व्यवसाय प्रर्वद्धनका लागि लक्षित विज्ञापन र प्रोपोगान्डा गर्ने, आर्टिफिशियल इन्टेलिजनको काम गर्ने जस्ता संवेदनशील काम गर्छ। यही कम्पनीमार्फत अस्गरले सरकारी डाटा कुनै पनि बेला दुरुपयोग गर्न सक्ने देखिन्छ। प्रधानमन्त्रीको आइटी विज्ञमा नियुक्त भएपश्चात नै उनले डाटा नियन्त्रणमा लिने प्रयत्न स्वरुप यो कम्पनीमा शेयर लगानी गरेका स्रोतको ठोकुवा छ । अस्गरकै योजना अनुसार अहिले नागरिक अधिकार मोवाइल एप परीक्षण गर्ने भन्दै विभिन्न सरकारी निकायसँग रहेका डाटा एकत्रित गरिएको स्रोतले बताएको छ । अहिले एप परीक्षणका नाममा अध्यागमन विभाग, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र लगायतका निकायसँग रहेका नागरिकका संवेदनशील विवरण प्रधानमन्त्री कार्यालयमा लगिएको छ। नागरिक अधिकार एप प्रधानमन्त्री कार्यालयले निर्माण गर्ने नै होइन। यो एप सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले निर्माण गर्ने हो। तर, अस्गरकै दबाबमा प्रधानमन्त्री कार्यालयले डाटा एकत्रित गरेको हो। एप निर्माणका लागि अलीले आफ्ना नातेदार रहिम अली र अस्लाम अलीलाई परामर्श दाता नियुक्त गरिसकेका छन्। यी दुवै जना अस्गरको लगानी रहेको एफ वान सफ्टमा कार्यरत बुझिएको छ । भने सरकारी डाटा मात्रै होइन, ९० प्रतिशत वित्तीय संस्थाका तथ्यांक समेत अस्गरकै हातमा छन्। उनकै कम्पनी एफवन सफ्टले आफ्नो आधिकारिक वेबसाइटमा राखेको जानकारी अनुसार नेपालका लगभग ९० प्रतिशत वित्तीय संस्थामा उसको कुनै न कुनै भुक्तानी सेवा प्रयोग हुने गरेको छ। यस्तै, ९ वटा सहायक कम्पनी रहेको एफवन सफ्टले ती कम्पनीमार्फत नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रबाट नागरिकहरूले लिने सेवाको पनि व्यवस्थापन गर्दै आएको ती कम्पनीका आधिकारिक बेवसाइटमा उल्लेख छन्। एफवन सफ्टले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड व्यवस्थापन, डिजिटल वालेट, अनलाइन पेमेन्ट गेटवे जस्ता सेवा दिँदै आएको छ। जहाँ लाखौं नेपालीका गोप्य व्यक्तिगत विवरण छन्।

प्रतिक्रियाहरु

[anycomment]